त्रिविकाे अतिक्रमित जग्गा छानजिनबारे समिति गठन

मूलखबर संवाददाता
काठमाडौं

सरकारले त्रिविको अतिक्रमित जग्गाबारे छानबिन र खोजबिन गर्न समिति गठन गर्ने निर्णय गरेको छ ।  पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरेको सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिनुभयाे । ।

समितिमा पूर्वसहसचिवद्वय महेन्द्रकुमार थापा र जानकीबल्लभ अधिकारी तथा त्रिविका विज्ञका रूपमा डा. प्रेमसागर चापागाईं सदस्य छन् भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव सुशीला अधिकारी सदस्य–सचिव रहेकी छन् ।

त्रिविको कीर्तिपुर र नैकापमा रहेको एक हजार बढी रोपनी जग्गा अतिक्रणमा परेको समाचार कान्तिपुरले प्रकाशित गर्दै आएको थियो । त्रिविको केन्द्रीय कार्यालय मातहत ३७ सय रोपनी जग्गा रहेको तथ्यांक छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार त्रिविको जग्गाको अध्ययन, अनुसन्धान, छानबिन र अनुगमनलगायत अचल सम्पत्तिको लगत संकलन गरी समितिले प्रतिवेदन बुझाउनेछ ।

त्रिताल बालुवाटारस्थित ललिता निवासको जग्गा अपचलनसम्बन्धी छानबिन समिति–२०७५ का संयोजकसमेत हुन् । समितिले ३ महिनाभित्र सरकारलाई प्रतिवेदन बुझाउने शिक्षा मन्त्रालयले जनाएको छ । छानबिनका क्रममा विश्वविद्यालयको सम्पत्ति हिनामिना भएको देखिन आएमा सत्यतथ्य प्रमाणसहित आवश्यक कारबाहीका लागि सिफारिस गर्न समितिलाई कार्यादेश तोकिएको खबर कान्तिपुरमा छ ।