प्रतिक्रियाहरूबाट म अचम्मित छु : अर्थमन्त्री पुन

मूलखबर संवाददाता
काठमाडौं

अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्ने बित्तिकै आएका प्रतिक्रियाहरूबाट आफू अचम्मित भएको बताउनु भयो । बजेट सन्तुलन र व्यवहारिक आएको भन्दै निजी क्षेत्र अरू विज्ञ तथा राजनीति पार्टी र तिनका नेताहरूले समेत तारिफ गरेकाले आफू अचम्मित भएको बताउनु भयो ।

बजेट के हुने हो ? सांसदबाटै आउने हो कि अध्यादेशमा जाने हो ? ठुलो चिन्ता थियो । तर, सांसदबाटै ल्याउन पाइयो । खुसी कुरो हो । बजेट सांसदभन्दा बाहिरबाट ल्याउने कुरा राम्रो थिएन । यसमा प्रधानमन्त्री ज्यूले ठुलो कसरत गर्नुभयो र वातावरण सहज भयो । यसका लागि म प्रधानमन्त्री ज्यूलाई र सम्पूर्ण राजनीतिक पार्टीहरूलाई धन्यवाद दिन चाहन्छुु अर्थमन्त्री पुनले भन्नुभयो ।

बिहीबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज)ले आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा बोल्दै अर्थमन्त्री पुनले बजेटले केही करका दर वृद्धि गरेकाले स्वार्थ समूह निजी क्षेत्रले मन दुखाए पनि सकेसम्म सन्तुलित र सर्वस्वीकार्य बजेट बनाएको दाबी गर्नुभयो ।

बजेटले उत्पादन, उत्पादकत्व र रोजगारी वृद्धि गर्ने गरी एकीकृत गरिएको अर्थमन्त्री पुनले बताउनु भयो ।