आजदेखि १४ वटा उत्तरी नाका खुल्ने

मूलखबर संवाददाता
काठमाडौं

शनिबारदेखि नेपाल–चीनको सिमानामा पर्ने सङ्खुवासभाको किमाथाङ्का नाका खुल्ने भएको छ । विराटनगरको रानी भन्सार नाका हुँदै सङ्खुवासभाको किमाथाङ्कासम्म पुग्ने बाटोलाई चीन–भारत जोड्ने छोटो मार्गका रूपमा लिइन्छ । चीनतर्फ जोड्ने किमाथाङ्का नाका सञ्चालन हुँदा अन्य नाकाको तुलनामा सहज हुने बताइन्छ ।

सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भोलि देशका उत्तरतर्फका १४ वटा नाका खुलेको घोषणा गर्न सङ्खुवासभाको किमाथाङ्का पारिपट्टी चीनको स्वशासित क्षेत्र तिब्बतमा पर्ने छेम्दाङमा विशेष कार्यक्रम गर्न लागिएको हो ।

कोरोना कालदेखि बन्द भएका देशका उत्तरतर्फका १४ वटै नाका खुलेको घोषणा भने सङ्घीय सरकारका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले गर्नेछन् ।

त्यसका लागि परराष्ट्रमन्त्री श्रेष्ठसहित कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, सङ्घीय सांसद दीपक खड्का र प्रदेशका स्वास्थ्य मन्त्री तथा सो क्षेत्रका प्रदेश सांसद राजेन्द्रकुमार कार्कीका साथै सुरक्षा निकायबाट ५ जना, गृह,वाणिज्य र रक्षा मन्त्रालयबाट सह सचिवस्तरका कर्मचारी प्रतिनिधि र परराष्ट्र मन्त्रालयको एउटा टिम त्यहाँ जान लागेको खड्काले जानकारी दिएका छन् ।

नेपालबाट शनिबारदेखि चीनतर्फ सामान निर्यात पनि सुरु हुने छ। अहिले पनि अनौपचारिक रूपमा किमाथाङ्का (भोट खोला गाउँपालिका) का जनताले उपभोग्य सामानहरू त्यहाँबाट ल्याउने गर्छन् । तर, औपचारिक रूपमा भने कोरोना कालदेखि सामान ओसारपसार गर्न बन्द गरिएको थियो ।

‘पहिले पहिले बोकेर ल्याउने खालका सामानहरू नेपाल–चीनतर्फ आउने जाने गर्दथ्यो । अहिलेचाहिँ त्यो पनि बन्द थियो । त्यहाँ नेपालतर्फ भन्सार पनि थियो । सीमा प्रशासन र भन्सार भने ०५७ सालमा सशस्त्र युद्धका कारण विस्थापित भएको हो ।