पशुपतिनाथकाे भेटी चाेरी गर्ने गिराेह पक्राउ, ७ कर्मचारी संलग्न

मूलखबर संवाददाता
काठमाडौं, ८ जेठ २०८१

पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको नगद भेटी चोरीमा संलग्न रहेको अभियोगमा प्रहरीले पशुपति क्षेत्र विकास कोषका सात कर्मचारीसहित आठ जनालाई पक्राउ गरेको छ ।

कोषले निगरानी गर्दा संस्कृति संरक्षण महाशाखाको भेटी गणना कक्षबाट कर्मचारीले नै भेटी लुकाएर लैजाने गरेको खुलेपछि महानगरीय प्रहरी वृत्त गौशालाको टोली बोलाएर आठै जनालाई अनुसन्धानका लागि जिम्मा दिइएको हो ।

गौशाला प्रहरी प्रमुख एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) केशवराज थेबेले कोषका तर्फबाट भेटी चोरी भएको र संलग्नलाई अनुसन्धानका लागि प्रहरीको जिम्मा दिएको बताउनुभयो । उहाँले भन्नुभयो, “मन्दिरबाट भेटी लुकाएर लैजाने गरेको विषयमा जानकारी आयो र हाम्रो टोलीले अनुसन्धान गर्न लिएर आएको छ ।”

कोषका नायब सुब्बा नवरा ढोडारी, मन्दिरका ब्राह्मणत्रय नवराज घिमिरे, राम सापकोटा र लक्ष्मण सापकोटा, मन्दिरमा बाजा बजाउने कर्मचारीत्रय अनिल परियार, सनिष कपाली र कुमार दमाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पशुपतिनाथ मन्दिर परिसरमा रहेको नेपाल इन्भेस्टमेन्ट मेघा बैङ्कको रकम सङ्कलन केन्द्रका एक कर्मचारी पक्राउ परे पनि नाम खुलेको छैन ।