मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक

मूलखबर संवाददाता
काठमाडौं

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा मुलुकको अधिकांश आर्थिक तथा वित्तीय सूचकहरू सकारात्मक देखिएका छन् । यो अवधिसम्ममा मुद्रास्फीति वाञ्छित सीमाभित्र रहेको छ भने शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को नौ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार आर्थिक सूचकहरू सुधारोन्मुख देखिएका हुन् ।

राष्ट्र बैङ्कका अनुसार चैतमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति चार दशमलव ६१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति सात दशमलव ७६ प्रतिशत रहेको थियो ।

राष्ट्र बैङ्कका अनुसार यो अवधिसम्ममा विप्रेषण आप्रवाह १९ दशमलव आठ प्रतिशतले बढेर १० खर्ब ८२ अर्ब ६२ करोड पुगेको छ । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख २९ हजार चार सय २२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख १२ हजार सात सय २१ रहेको छ ।

चैत मसान्तसम्ममा शोधनान्तर स्थिति तीन खर्ब ६५ अर्ब १६ करोडले र चालु खाता एक खर्ब ७९ अर्ब ४८ करोडले बचतमा रहेको छ ।