कर्णालीको मुख्यमन्त्री दाबी गर्ने अन्तिम दिन, सहमती हुन सकेन

मूलखबर संवाददाता
काठमाडौं

कर्णाली सरकारको मुख्यमन्त्रीको लागि दाबी पेस गर्ने आज अन्तिम दिन हो ।

प्रदेश प्रमुख तिलक परियारले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने कर्णाली प्रदेश सभाका सदस्यलाई चैत २७ गते साँझ ५ः५० बजे भित्र मुख्यमन्त्री पदका लागि दाबी पेस गर्न प्रदेश प्रमुखबाट आह्वान गरेका थिए । तर पनि कर्णालीमा अहिलेसम्म भागबन्डाको टुङ्गो लागिसकेको छैन । यहाँ सत्तारुढ दलहरू नेकपा माओवादी–नेकपा एमालेबिच ‘पावर सेयरिङ’मा कुरा मिलेको छैन ।

अघिल्लो बुधबार मुख्यमन्त्री राजकुमार शर्माले राजीनामा दिएसँगै नयाँ मुख्यमन्त्री एमाले संसदीय दलका नेता यामलाल कँडेल बन्दै छन् । तर, कँडेलले भागबन्डाको कुरा भने अहिलेसम्म पनि मिलाउन सकिरहेका छैनन् । कँडेल सरकारको नेतृत्व आफूले गरेपछि धेरै पावर आफैँसँग राख्न चाहन्छन् । उनले अर्थ मन्त्रालय पनि आफैँसँग राख्न चाहेकाले समस्या भएको देखिन्छ ।

आज मुख्यमन्त्रीका लागि दाबी पेस गर्नु पहिला दुई दलका नेताहरूबिच छलफल हुँदै छ । त्यसपछि भागबन्डाको विषयमा निकास निस्किने अपेक्षा गरिएको छ ।