पुर्व सभामुख महरा रिहा
माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानतमा छुटेका छन् । सुन तस्करी प्रकरणमा अनुसन्धानको सिलसिलामा पक्राउ परेका महरा आज हाजिरी जमानीमा छुटेका हुन् ।
जिल्ला सरकारी वकिलको कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई महरालाई हाजिरी जमानतमा छाड्न अनुमति दिएपछि उनलाई छाडिएको हो ।
सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले महरालाई हाजिरी जमानतमा छाडिएको पुष्टि गरेका छन् ।
महराको बयान सकिएपछि उनलाई हाजिरी जमानतमा छाडेर थप अनुसन्धान प्रक्रिया अघि बढाउन सीआईबीले सरकारी वकिलसँग अनुमति मागेको थियो ।
महरालाई ५ चैतमा कपिलवस्तुमा पक्राउ गरेर काठमाडौं ल्याइएको थियो । अदालतमा म्याद थप गर्न हाजिर गएका बेला उनको स्वास्थ्य स्थितिलाई ख्याल गर्दै अस्पतालमा राख्न आदेश भएको थियो ।
सरकारी वकिलमार्फत प्रहरीले उनलाई ७ दिन हिरासतमा राख्न अनुमति मागेपनि अदालतले ४ दिन मात्र स्वीकृति दिएको थियो ।
अदालतले चार दिन म्याद थप गर्न दिएको अनुमतिसम्बन्धी आदेशमा उनलाई टीबी, युरिक एसिड, प्रोस्टेटको समस्या रहेको उल्लेख छ । अनुसन्धान अधिकृतहरुका अनुसार, कमजोर स्वास्थ्यका कारण उनलाई बयानका लागि ल्याउन, लैजान पनि कठिनाइ भएको थियो ।