रुँदै महराको बयानः ममाथि राजनीति भो, ‘सुन तस्कर’को ट्याग अन्यायपूर्ण
सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराले यो घटनामा आफ्नो संलग्ना अस्वीकार गरेका छन्। बिहीबार सरकारी वकिल कार्यालयमा भएको बयानमा उनले संलग्नता अस्वीकार गरेका हुन्।
सोमबार कपिलबस्तुबाट पक्राउ परेका महराको बयान बिहीबार सकिएको हो ।
अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा भर्ना भएका महरा बयान दिने क्रममा दुई दिनै रोएका थिए।
बयानको पहिलो दिन बुधबार बयान दिइरहेको बेला रोएको सरकारी वकिल कार्यालयका एक कर्मचारीले बताए । ‘उहाँ पहिलो दिन बयान दिइरहेको बेला रूनुभयो । गर्दै नगरेको काममा आफूलाई पोलेको उहाँले गुनासो गर्नु भएको थियो ।’ बयानमा संलग्न एक कर्मचारीले भने ।
बिहीबार भने बयान सकेपछि भएको अनौपचारिक कुराकानीका क्रममा ‘नखाएको विष लाग्यो’ भन्दै महरा रोएको ती कर्मचारीले बताए ।
‘उहाँको नम्बरबाट फोन गरेको बाहेक अन्य कुनै प्रमाण भेटिएको छैन’, सरकारी वकिल कार्यालय स्रोतले भन्यो । ती अधिकारीले महराको शारीरिक अवस्था निकै जीर्ण रहेको पनि बताए ।
‘उहाँ राम्रोसँग बोल्नसमेत सकिरहनु भएको छैन । दुईतिर समातेर हिँडाउनुपर्ने अवस्था छ’, ती अधिकारीले भने । सीआईबीका अनुसार महरा दैनिक ८ किसिमका औषधिहरु सेवन गर्ने गर्छन् । ‘टीभीदेखि मस्तिष्कको नसासम्ममा समस्या रहेछ’, सीआईबी स्रोतले भन्यो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सरकारी वकिल कार्यालयमा बयान लिएको हो । कार्यालय स्रोतका अनुसार उनले बयानमा आफूमाथि राजनीति भएको बताएका छन् ।
उनले बयानमा भनेका छन्, “म नेता हो विभिन्न मान्छेसँग मेरो फोन सम्पर्क हुन्छ । त्यही शिलशिलामा चिनियाँहरूसँग पनि भएको हो । उनीहरूले सुन तस्कर गर्छ भन्ने मलाई कुनै पूर्वजानकारी छैन ।”
०७९ पुस १० गते चिनियाँ नागरिक ली हानसोङले फ्लाई दुबईको उडानमार्फत इलेक्ट्रिक सिगरेट (भेप)मार्फत नौ किलो सुन ल्याएका थिए । सोही प्रकरणमा महराको कनेक्सन देखिएपछि उनी पक्राउ परेका हुन् । सोही प्रकरणमा गत भदौमा पक्राउ परेका उनका छोरा राहुल भने पुर्पक्षका निम्ति थुनामा छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेका महरालाई हिजो पनि बयान लिइएको थियो। सरकारी वकिलको कार्यालयका एक अधिकृतले एक चरणको बयानको काम सकिएको र अब थप आवश्यक प्रक्रिया सीआईबीले अघि बढाउने बताए।
महरालाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई अनुमति दिएको थियो।