बाइडेन भर्सेज ट्रम्पः जसले जिते पनि अनिश्चिततामा जाने छ अमेरिका

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकामा सन् २०२४ को अन्त्यतिर हुने ६०औं राष्ट्रपतीय निर्वाचनमा बहालवाला राष्ट्रपति जो बाइडन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पबीच ‘रिम्याच’ हुने निश्चितप्रायः देखिएको छ । सन् २०२० को चुनावमा पनि यिनै दुई मुख्य प्रतिस्पर्धी थिए । दुवैले आ-आफ्नो पार्टीभित्र उम्मेदवारी चयनको ‘प्राइमरी’ मा उल्लेख्यनीय अग्रता लिएकाले यस्तो अनुमान सहज भएको हो ।

बहालवाला राष्ट्रपति दोस्रो कार्यकालका लागि पराजित हुनु र पूर्वराष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित हुनु दुवै अमेरिकी राजनीतिमा दुर्लभ घटना हुन् । बाइडन-ट्रम्पबीचको पुनर्भिडन्तले ती दुर्लभ उदाहरणमा एक नयाँ कडी थप्नेछ ।

एक कार्यकाल पूरा गरी दोस्रो कार्यकालका लागि पराजित भएका राष्ट्रपति अर्को निर्वाचनमा निर्वाचित भएको अहिलेसम्म एक मात्र घटना छ । २२औं राष्ट्रपति स्टेमर ग्रोभर क्लेभलैण्ड सन् १८८४ को चुनावमा विजय भइ सन् १८८८ मा पराजित भएका थिए । तर, सन् १८९२ मा फेरि विजयी भए ।

सामान्यतः एक कार्यकाल पूरा गरेर पराजित भएका पूर्वराष्ट्रपति दोहोर्‍याएर चुनावी मैदानमा आउँदैनन्, जुन काम ट्रम्प गरिरहेका छन् ।

बहालवाला राष्ट्रपति दोस्रो कार्यकालमा पराजित भएका भने ११ वटा उदाहरण छन् । दोस्रो कार्यकालका लागि चुनाव हार्ने पहिलो राष्ट्रपति जोहन अडम्स थिए । उनी जर्ज वासिङटनपछि दोस्रो राष्ट्रपति भएका थिए । सन् १७७९ को चुनावमा आडम्स थोमस जेफरसनसँग हारेका थिए । यसका अन्तिम उदाहरण त डोनाल्ड ट्रम्प आफैँ हुन्, जो सन् २०१६ मा विजयी भएर सन् २०२० मा पराजित भए ।

विश्लेषक ठान्दछन् कि पहिलो कार्यकालमा बाइडन नराम्रा राष्ट्रपति त मानिएनन् । तर, अधिक प्रभावशाली पनि देखिएनन् । बुढेशकालमा उनले दोस्रो कार्यकालका लागि प्रयत्न नगरेको भए राम्रो हुन्थ्यो । कथाचित उनी ट्रम्पसँग पराजित भए पनि त्यो उनको डेमोक्र्याटिक पार्टीका लागि धेरै ठूलो नोक्सानी हुनेछ ।

ट्रम्पले जित्ने आधार पनि त्यही एउटा देखिन्छ, बाइडनजस्तो कमजोर प्रतिस्पर्धी प्राप्त गर्नु । तर, बाइडन र डेमोक्र्याटिक पार्टीले यो जोखिम मोल्न चाहेपछि त्यसको अर्को कुनै उपाय रहेन ।

बाइडनले हालै ‘युनियन स्पिच’ दिएका छन् । त्यसमा उनको मानसिक स्वास्थ्य र बलियो आत्मविश्वास मात्र प्रदर्शित भएको छैन, यस्ता शब्दावली प्रयोग गरेका छन् कि उनलाई दोस्रो कार्यकालका लागि विजयी हुने पूर्ण विश्वास छ ।

राष्ट्रपति पदका लागि बाइडनको दौड आफैँमा चाखलाग्दो छ । यो दौडमा उनी निरन्तर र अथक धावकजस्तो लाग्दछन् । सन् १९८७ मा उनले यो दौड सुरू गरेका थिए । सन् १९८८ को राष्ट्रपतीय निर्वाचनका लागि डेमोक्र्याटिक प्राइमरी सामना गरेका थिए ।

सन् २००८ मा उनले अर्को प्रयत्न गरे । तर, फेरि पराजित भए । तर, यसपटक उनलाई राष्ट्रपति बाराक ओबामाको उपराष्ट्रपति बन्ने अवसर प्राप्त भयो ।

सन् २०२० को डेमोक्र्याटिक प्राइमरी बाइडनको तेस्रो प्रयास थियो । यसपटक पनि उनले बर्नी स्यान्डर्सजस्तो लोकप्रिय प्रतिस्पर्धीको सामना गर्नुपरेको थियो । युवा उमेरमा प्रतिस्पर्धा गर्न थालेको राष्ट्रपति पद बाइडनका लागि बुढेशकालतिर मात्र हात लाग्यो । र, आज उनका आलोचकले उनीमाथि चलाउने सबैभन्दा ठूलो हतियार त्यही बुढ्यौली बनेको छ ।

पहिलो कार्यकाल पूरा गर्दैगर्दा उनमा खासै स्वास्थ्य समस्या भने देखिएन । यदाकदा बिर्सने र हिँड्दाहिँड्दै लड्ने घटना भने भए । अहिले उनी ८१ वर्षका छन् । तर, उनको युनियन स्पिचमा देखिएको जोश र जाँगर देख्दा धेरै अमेरिकी मन्त्रमुग्ध भएका छन् । त्यसो त उनका प्रतिस्पर्धी ट्रम्प बुढ्यौलीका बाबजुद उत्तिकै स्वास्थ्य र सक्रिय देखिन्छन् ।

बाइडन पहिलो शासनकालको सबैभन्दा ठूलो सफलता ट्रम्पकालको उथलपुथल र विभूमण्डलीकरणबाट देशलाई फिर्ता गर्नु मानिन्छ । चीनसँगको व्यापार युद्धलाई उनले सन्तुलन गरे । बाइडनको पहिलो शासनकालमा अमेरिकी अर्थतन्त्रले धेरै ठूलो प्रगति त गरेन । तर, आर्थिक सङ्कटको सामना पनि गर्नुपरेन ।

रुस-युक्रेन, इजरायल-हमास युद्धमाथि सार्थक हस्तक्षेप गर्न नसक्नु भने उनका असफलता मानिन्छन् । उनका प्रतिस्पर्धी ट्रम्पले यो भन्ने गर्दछन् कि यदि उनले जितेको भए युक्रेन-रुस युद्ध हुने नै थिएन । ट्रम्पले रुसी समकक्षी पुटिनलाई फकाएरै युद्ध रोक्न सक्थे ।

तर, बाइडनप्रति सहानुभूतिशीलहरू युद्ध दुई वर्ष बढी हुँदा पनि रुसले जित्न नसक्नुलाई चानचुने मान्दैनन् । युक्रेनलाई बाइडन प्रशासनको सहयोगबिना यसो हुन सम्भव थिएन । युक्रेन युद्धको अन्तिम समीक्षा तब होला, जब यसको अन्त्य हुन्छ । त्यसले के परिणाम दिन्छ भन्ने प्रष्ट होला ।

इजरायल-हमास युद्धमा भने बाइडनले इजरायलको पनि आलोचना गर्ने गरेका छन् । लाग्छ, बेन्जामिन नेतान्याहू बाइडनका लागि सहज समकक्षी हैनन् । बाइडन उमेर र परिपक्कताको त्यो बिन्दुमा छन्, उनले यी दुवै युद्धमा कुनै अपरिपक्क निर्णय लिन सक्दैनथे ।

बाइडनको राजनीतिक छवि सुरूदेखि नै अति-आक्रामक र प्रगतिशील हैन । त्यस्तो छवि त बर्नी स्यान्डर्सको थियो । स्यान्डर्स समाजवादी भनिन्थे । अमेरिकी राजनीतिका कम्युनिष्ट भन्थे कसैकसैले । स्यान्डर्समाथि हाबी हुन बाइडनको मध्यमार्गी छविले काम गरेको थियो ।

आज पनि बाइडन अधिकांश मुद्दामा मध्यमार्गी नै छन् । उनी पर्याप्त प्रगतिशील हुन सकेका छैनन् । तर, उनको मध्यममार्ग ट्रम्पको चरम दक्षिणपन्थलाई रोक्न भने सफल हुँदै आएको छ अहिलेसम्म ।

कमला ह्यारिसलाई ‘जोडा’ बनाएर उनले समावेशिता र सन्तुलनको अर्को इतिहास रचेका थिए । ह्यारिस पहिलो अश्वेत तथा अफ्रिकी-एसियन मूलकी मात्र थिइनन्, इतिहासकै पहिलो महिला उपराष्ट्रपति पनि थिइन् । कुनै श्वेत महिलाले समेत त्यो उच्च पद हासिल गरेका थिएनन् त्यसअघि । बहुसांस्कृतिकतावादी, समावेशी र बहुलवादी अमेरिकाको साख विस्तार गर्न यो आफैँमा महत्त्वपूर्ण कडी थियो ।

लोकतन्त्र र जलवायु परिवर्तनको मुद्दाप्रति बाइडनको प्रतिबद्धतालाई कमजोर मान्न सकिँदैन । सन् २०२० को राष्ट्रपतीय निर्वाचन अभियानमा गरेको वचनबद्धताअनुरूप उनले लोकतन्त्र शिखर सम्मेलनलाई प्राथमिकता दिए ।

त्योभन्दा ठूलो कुरा बाइडनले अमेरिकालाई बहुपक्षीय संलग्नता र सहकार्यमा फर्काए । विश्व स्वास्थ्य सङ्गठनबाट फिर्ता हुने पूर्वराष्ट्रपति ट्रम्पको निर्णयले संयुक्त राष्ट्र सङ्घलगायतका संस्थाको भविष्य कहाँ पुर्‍याउँथ्यो, यसै भन्न सकिन्न ।

आप्रवासन अर्को त्यस्तो मुद्दा हो, जसले अमेरिकी समाज र राजनीतिमा सधैँ तनाव र ध्रुवीकरण सिर्जना गर्दछ । ट्रम्पले निर्माण गर्न थालेको मेक्सिकोसँगको पर्खाललाई उनले लामो समय रोकेर राखे । डेमोक्र्याट्सहरू आप्रवासन मुद्दामा उदार र लचिलो छन् भन्ने दुनियाँलाई थाहा छ । तर, यो मुद्दामा व्यावहारिक प्रयोजन यति धेरै छ कि दबाब खप्न सजिलो भने कसैलाई हुँदैन ।

आज संसारभरका मानिस अमेरिका छिर्न चाहन्छन् । अमेरिका संसारकै लागि सपनाको देश भएको छ । अमेरिकी जीवन त्यति सहज हैन, जति कल्पना गरिन्छ । यो एक सुरक्षित र भव्य राष्ट्र भने अवश्य हो । र, यो विश्व छविलाई बाइडनले आफ्नो कार्यकालमा धुमिल हुन दिएनन् ।

बाइडनले पद बहाल गर्दा कोभिड १९ महामारीको प्रभाव छँदै थियो, यसलाई नियन्त्रण गर्ने जसको अंश उनको भागमा पनि पर्दछ ।

सर्वेक्षणले के देखाउँछन् भने अधिकांश डेमोक्र्याटिक मतदाता नै बाइडन नदोहोरिएको भए हुन्थ्यो भन्ने चाहन्छन् । यसको अर्थ यो हैन कि उनको पहिलो कार्यकाल खराब रह्यो । अवश्य धेरै राम्रो रहेन । तर, खराब पनि भएन । आफ्नो मध्यमार्गी चरित्र र छविअनुरूप उनी एक औसत राष्ट्रपतिका रूपमा इतिहासमा दर्ज भए । तर, चिन्ता भने दोस्रो कार्यकाललाई लिएर हो । पुन: निर्वाचित भए उनको दोस्रो कार्यकाल कस्तो होला ?

न्यूयोर्क टाइम्सबाट साभार