राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल निर्वाचित, आजै सपथ
राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित हुनुभएकाे छ । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार रहनुभएका माओवादी केन्द्रका नेता तथा सांसद दाहालले कांग्रेसका सांसद युवराज शर्मालाई पराजित गर्दै विजयी हुनुभएकाे हाे । निर्वाचनमा कूल ५९ सदस्यमध्ये दाहालले ३९ मत प्राप्त गर्नुभयो भने शर्माले १७ मत प्राप्त गर्नुभयाे ।
अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाउनुभयाे । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिनुभएकाे छ।
त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहेका थिए । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।
अध्यक्षकाे सपथ आजै ५ बजे तय गरिएको राष्ट्रपति सचिवालयले जनाएको छ ।
चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि वामपन्थी र मुलत माओवादी धारकाे पार्टीमा सक्रिय हुनुहुन्छ । उहाँ २०५७ देखि माओवादी केन्द्रीय सदस्य रहनुभएकाे छ ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बन्नुभएकाे हाे । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएकाे थियाे । यसअघि प्रधानमन्त्री प्रचण्डको दाेश्राे कार्यकालमा उहाँ राजनीतिक सल्लाहकार रहनुभएकाे थियाे । उहाँ राष्ट्रपतिद्वारा मनाेनित राष्ट्रिय सभा सदस्यकाे रूपमा बहाल रहनुभएकाे थियाे ।