पश्चिमी वायु सक्रिय, आज काठमाडौंमा पनि बदली

मूलखबर संवाददाता
काठमाडौं

देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । पश्चिमी वायुको प्रभावका कारण वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा छ । तराईका थोरै स्थानमा हल्का हुस्सु लागिरहेको छ ।

विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ । बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

काठमाडौंमा आज आंशिकदेखि सामान्य बदली हुनेछ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार काठमाडौंमा आज बादल लाग्ने र घाम लाग्ने दुवै हुनेछ । “काठमाडौंमा आज वर्षाको धेरै सम्भावना छैन । भयो भने पनि छिटपुट वर्षा मात्रै हुनेछ,” मौसमविद् मानन्धर भन्छिन्, “छिटपुट वर्षा भयो भने दिउँसोतिर हुनेछ ।”

पश्चिमी वायु पश्चिमबाट पूर्वतर्फ ढिलो सरिरहेको उनको भनाइ छ । “यो प्रणालीले पनि ठूलो अथवा भारी वर्षा वर्षा गराउने त होइन, सानो वर्षा गराउने हो । तर यो पनि पश्चिमबाट पूर्वतर्फ ढिलो सरिरहेको छ । पश्चिमबाट पूर्वमा आइपुग्दा पानी पार्ने जलवास्पयुक्त प्रणाली कमजोर भइसकेको हुन्छ,” उनले भनिन् ।

विभागका अनुसार राति पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।