आजदेखि मौसममा सुधार हुने
पश्चिमी वायुको प्रभावले हिजो देशभर आंशिकदेखि सामान्य बदली रहेको भए पनि आजदेखि मौसममा महत्त्वपूर्ण सुधार आउने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज अर्थात् बिहीबारदेखि मौसममा क्रमिक सुधार हुँदै जानेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको आकाश हिजो साँझ नै खुलिसकेको उनले जानकारी दिए।
अहिले सङ्घीय राजधानी काठमाडौँसहित देशका अधिकांश भागमा मौसम बदली रहेको छ। उनका अनुसार मधेश प्रदेशका एक/दुई स्थान तथा काठमाडौँका केही स्थानमा छिटफुट वर्षा भएको छ।
कोशी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ।