भारतमा चुनावी मिसन २०२४- सुरु नहुँदै निस्तेज भयो मोदीविरुद्धको गठबन्धन
आउँदो चुनावमा नरेन्द्र मोदीको सत्तारुढ भारतीय जनता पार्टीलाई टक्कर दिन भन्दै गत जुलाईमा भारतका दुई दर्जनभन्दा बढी पार्टीले विपक्षी गठबन्धन बनाए।
प्रमुख विपक्षी दल कंग्रेस र अरु साना क्षेत्रीय दलहरु सम्मिलित गठबन्धनको नाम चलाखीपूर्वक इन्डिया (इन्डियन नेसनल डेभलपमेन्ट इन्क्लुसिभ अलायन्स) राखियो।
यो गठबन्धनको सफलता उनीहरु आपसमा मिल्न सक्छन् कि सक्दैनन् अनि सिट बाँडफाँट गरेर एक पार्टी जसरी भाजपाविरुद्ध मैदानमा उत्रिन सक्छन् कि सक्दैनन् भन्नेमा निर्भर थियो।
भारतमा विपक्षीबीच टुटफुट हुँदा सत्तारुढ दललाई जहिले पनि फाइदा पुग्छ। २०१९ को आम चुनावमा मोदीको पार्टीले लोकप्रिय मत ३७ प्रतिशत मात्र पाए पनि लोकसभाका ५४३ मध्ये ३०३ सिटमा विजय हात पारेको थियो।
तर, ६ महिना नपुग्दै भारतको यो विपक्षी गठबन्धन टुटफुटको सिकार भएको छ। पछिल्लो समय बिहारका मुख्यमन्त्री नितिश कुमारले गठबन्धन छाडेर फेरि भाजपालाई साथ दिएका छन्। उनले १८ महिनाअघि मात्र भाजपासँगको सहकार्य तोडेका थिए।
अब बिहारका ४० सिटमध्ये अधिकांशमा जित हात पार्न भाजपाले नितिशको जनता दल युनाइटेडसँग सहकार्य गर्नेछ।
भारतको भद्रगोल राजनीतिमा दलबदलुहरु देखिनु सामान्य हो। तर कुनै समय विपक्षी गठबन्धनबाट आउँदो प्रधानमन्त्रीका उम्मेदवारका रुपमा हेरिएका ७२ वर्षीय नितिशको दल बदल्ने कार्यले थुप्रैलाई चकित तुल्याएको छ।
‘उनको बहिर्गमन इन्डिया गठबन्धनका लागि ठूलो धक्का हो। गठबन्धनले ठिकसँग काम गरिरहेको छैन भन्ने सन्देश पनि यसले दिन्छ,’ भारतीय राजनीतिका अध्येता जिल वर्नियर्स भन्छन्।
त्यति मात्र होइन। गठबन्धनका दुई क्षेत्रीय नेताहरु, पश्चिम बंगालको तृणमूल कंग्रेसकी ममता बनर्जी र दिल्ली तथा पञ्जाबको आम आदमी पार्टीका अरविन्द केजरीवालले पनि कंग्रेसबाट आफूलाई अलग गरेका छन्। आआफ्नो राज्यमा एक्लै चुनाव लड्ने तिनले बताएका छन्। यसको अर्थ ती राज्यमा सिट बाँडफाँड नहुने सम्भावना ज्यादा छ।
मोदी अजेय देखिइरहँदा शिशु अवस्थामा यो गठबन्धन उथलपुथलको सिकार बनेको छ।
डिसेम्बरमा भएको विधान सभा चुनावमा भाजपाले छत्तीसगढ, राजस्थान र मध्यप्रदेशमा जित हात पारेको छ। यो हिन्दीभाषी इलाका हो। जनवरीमा अयोध्यामा राममन्दिर उद्घाटन गरेर मोदीले अप्रिल र मेमा हुने आम चुनावको अभियान सुरुवात गरिसकेका छन्।
‘डिसेम्बरपछि भाजपाका लागि सबैथोक नाटकीय रुपमा परिवर्तन भएको छ। भाजपाले चुनाव जित्ने सम्भावना बढेको छ,’ दिल्लीस्थित सेन्टर फर पोलिसी रिसर्चका राहुल बर्मा भन्छन्।
कंग्रेस पार्टीका विषयमा रहेको मतभेदले गठबन्धनलाई अझ नाजुक बनायो। राहुल गान्धी नेतृत्वको कंग्रेस भाजपाको एक मात्र भारतव्यापी विकल्प हो। २०१९ को चुनावमा सो पार्टीले २० प्रतिशत लोकप्रिय मत र लोकसभामा ५२ सिट मात्र जितेको थियो।
‘त्यसमाथि कंग्रेसले अनुचित मात्रामा सिट संख्या माग गर्छ। जसलाई पूरा गर्न उसका क्षेत्रीय साझेदारहरु इच्छुक छैनन्,’ वर्नियर्स भन्छन्, ‘आफ्नै कमजोरीका कारण कंग्रेसलाई विषाक्त साझेदार मान्ने गरिन्छ।’
तर, थुप्रै के विश्वास गर्छन् भने विपक्षीको सारा समस्याको जड कंग्रेसलाई मात्र मान्नु उचित होइन। भारतको चरम प्रतिपस्पर्धात्मक राजनीतिक परिदृश्यमा व्यावहारिकताको जित हुन्छ किनकि हरेक पार्टी आफ्नै स्वार्थ अघि बढाइरहेका हुन्छन्।
‘इन्डिया गठबन्धनका हरेक सदस्यले उनीहरुको साझा स्वार्थलाई भन्दा आफ्नै स्वार्थलाई अगाडि राखिरहेका छन्। उनीहरुका लागि आफ्नै राज्यले मात्र अर्थ राख्छ। आम चुनाव हारे पनि ती आफूले शासन गरिरहेको राज्यमा फर्किन सक्छन्,’ वर्नियर्स भन्छन्।
तर, झगडाको एउटा पक्ष मात्र हो सिट बाँडफाँट। विश्लेषकहरुका अनुसार भाजपाको हिन्दु राष्ट्रवाद र विकास मिश्रित लोकप्रिय नाराको विकल्पमा अर्को आकर्षक नारा विपक्षीले दिन सकेको छैन। भाजपाको संकथनलाई सञ्चारमाध्यम, व्यवसाय र समाजको ठूलो हिस्साको साथ रहेको राजनीतिशास्त्री असिम अली बताउँछन्।
‘जब सामाजिक रुपमा व्यापक समर्थन प्राप्त हुन्छ, तब मात्रै कुनै मुद्दा अगाडि आउँछ,’ उनी भन्छन्।
उठाउनका लागि विपक्षीसँग मुद्दाको कुनै कमी छैन। मोदीले बेरोजगार समस्या समाधान गर्न नसकेको उनीहरुले बताए। तिनले भाजपाको मुस्लिमविरोधी अभिव्यक्तिको भर्त्सना गरे। सञ्चारमाध्यम, थिंक ट्यांकमाथि आक्रमणको विरोध गरे। सरकारी एजेन्सीद्वारा राजनीतिक प्रतिद्वन्द्वीलाई दुःख दिने कार्यको आलोचना गरे। डिसेम्बरमा संसदबाट निलम्बन भएका १४० विपक्षी सांसदहरुको पक्षमा उनीहरुले संयुक्त रुपमा विरोध गरे।
तथापि उनीहरुलाई एक ठाउँमा गाँस्ने वैचारिक शक्ति नदेखिएको वर्नियर्स बताउँछन्। खासगरी मोदी र भाजपाको हिन्दु राष्ट्रवादका सम्बन्धमा।
साँच्चै भन्नुपर्दा बलियो र भरपुर स्रोतसाधन भएको भाजपा र त्यसका निकै लोकप्रिय नेतालाई चुनौती दिन गठबन्धन गर्नु निकै कठिन काम हो। स्वतन्त्रतादेखि १९७७ सम्म बिनाअवरोध भारतमा शासन चलाएको कंग्रेसविरुद्ध एकजुट हुन र उसलाई हराउन विपक्षीहरुलाई दशकौँ लागेको थियो।
उतिबेलाको जनता पार्टी गठबन्धनमा समाजवादीदेखि हिन्दुवादीसम्म अटाएका थिए। तिनले इन्दिरा गान्धीको संकटकालीन शासनविरुद्ध लडे, जतिबेला नागरिक अधिकार कटौती गरिएको थियो। भलै त्यो गठबन्धन आन्तरिक विरोधाभाष र नेताहरुको व्यक्तिगत महत्वाकांक्षाका कारण दुई वर्षभित्रै ढल्यो। तर, त्यसले कुनैबेला अपराजेय ठानिएको दललाई सत्ताबाट झारेको थियो।
‘केवल अस्तित्वमाथिकै संकट अथवा बाहिरी झट्काले मात्रै यी अलगथलग पार्टीहरुलाई एक ठाउँमा उभिने वातावरण तयार गर्छ। सामान्य वातावरणमा तिनले एकजुट भएर बलियो सत्तारुढ दललाई चुनौती दिन कठिन छ,’ वर्मा भन्छन्।
उसोभए इन्डिया गठबन्धन मरणासन्न भएकै हो त?
‘गठबन्धन संकटमा छ। तथापि तिनले मिलेर चुनाव लड्न सक्ने अवस्था अझै छ,’ वर्मा भन्छन्।
चुनावको नतिजा क्षेत्रीय पार्टीहरुको प्रदर्शनमा भन्दा भाजपा बलियो रहेको उत्तरी भारतका २५० सिटमा कंग्रेसले कस्तो प्रदर्शन गर्छ भन्नेमा निर्भर रहेको उनको भनाइ छ।
वर्नियर्स समाधानको उपाय अघि सार्छन्, ‘आफूलाई अझै प्रमुख राष्ट्रिय खेलाडी मान्ने कंग्रेसलाई भनेजति सिट दिन क्षेत्रीय पार्टीहरु तयार छैनन्। त्यसैले कंग्रेसले आफ्नो ध्यान ती राज्यहरुमा केन्द्रित गर्नुपर्छ, जहाँ ऊ भाजपासँग सीधै प्रतिस्पर्धा गर्दैछ। बाँकी राज्यहरुमा क्षेत्रीय पार्टीलाई छाडिदिनुपर्छ।’
तर, यो पनि गर्नभन्दा भन्न सजिलो उपाय हो।
बीबीसी