काठमाडौंको तापक्रम ३.५ डिग्री सेल्सियस, पानी पर्ने सम्भावना
पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । पहाडी भू–भागमा वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदलीदेखि मूख्यतया सफा रहेको छ । मधेस प्रदेशका धेरै भू–भागमा हुस्सु र कुहिरो लागेको छ ।
काठमाडौंमा आज बिहान ५ : ४५ बजेको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस रहेको छ । आज अपराह्नदेखि काठमाडौंमा बदली सुरु हुनेछ ।
विभागले दिउँसो सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा देशका बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ
विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहनेछ ।
कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।