मौसम विभागको आग्रह- चिसो बढ्यो, सतर्कता अपनाउनुस्
समग्र मुलकभरको तापक्रम घट्दै गएको छ । यो क्रम अझै केहि दिन रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागको अनुमान छ । तराईका अधिकांश स्थानमा आज पनि हुस्सु लागेको छ ।
कतिपय स्थानमा शितलहर समेत चल्ने विभागले जनाएको छ ।
चिसो बढ्दै गएपछि दैनिक जनजीवन तथा स्वास्थ्य प्रभावित हुने भएकाले आवश्यक उपाय अपनाउन आग्रह गरिएको छ । त्यस्तै हुस्सु र कुहिरोका कारण सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन अनुरोध छ ।