अयोध्यामा राम मन्दिर उद्घाटन आज, यसकारण भैरहेको छ भारतमा विवाद
आज जनवरी २२ अर्थात् भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरको भव्य उद्घाटन हुने दिन। भारतमा आज उच्च सुरक्षाकाबीच मन्दिर उद्घाटन हुँदै छ।
यो मन्दिर त्यहीँ बनेको हो जहाँ सन् १९९२ मा बाबरी मस्जिदलाई हिन्दु सेवकहरूको भीडले भत्काइदिएको थियो।
त्यो घटनाको ३१ वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा मूर्तिको प्राण–प्रतिष्ठा नामक मुख्य कर्मकाण्ड हुँदैछ।
स्वभावतः भारतमा सक्रिय भारतीय जनता पार्टी (भाजपा) लगायत राजनीतिक दलहरू र मन्दिर निर्माणमा सक्रिय भूमिका खेलेका विश्व हिन्दु परिषद र राष्ट्रिय स्वयंसेवक संघजस्ता संस्थाहरू यो अवसरका लागि उत्साहित छन्। खास गरी भारतको हिन्दीभाषी क्षेत्रमा ठूलो संख्यामा रहेका हिन्दुहरू पनि यो समारोहको व्यग्र प्रतीक्षामा छन्।
झण्डै ८ हजार मान्छे सहभागी हुने समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, एसियाकै धनी मुकेश अम्बानी, फिल्मस्टार, सेलिब्रिटिजहरू पनि देखिनेछन् । भारतीय लग्जरी चार्टर सेवा क्लब वान एयरका सीईओ राजन मेहराले रोयटर्सलाई भनेका छन्, ‘यो कार्यक्रममा अमन्त्रित हुनु ‘स्टेटस सिम्बोल’ नै भएको छ ।
मिडिया रिपोर्ट्सअनुसार, अयोध्यानजिकै एयरपोर्टमा निजी विमान पार्किङस्थल भरिइसकेको छ । भोलि अयोध्यामा कम्तीमा १०० निजी विमान उत्रिने अनुमान छ । अयोध्यानजिकै वाराणसी र गोरखपुर शहरका विमानस्थल पनि खचाखच छन्
अयोध्यामा हजारौँ मानिस बस्ने गरी टेन्टहरू टाँगिएका छन् । त्यहाँ जान दर्जनौँ उडानहरू भइरहेका छन् । नेपालबाट समेत ३० जनाभन्दा बढी सन्त-महन्तहरू अयोध्याका लागि निस्केको विश्व हिन्दु परिषद् नेपालले जनाएको छ । जानकीको जन्मस्थल जनकपुरधामबाट पुस २० गते भार (कोसेली) पठाइएको छ । अयोध्यामा राममन्दिर उद्घाटनलाई ऐतिहासिक र उत्सवमय पल मान्दै प्रदेश २ का केही पालिकाले सार्वजनिक बिदा नै दिएका छन् ।
राममन्दिरको निर्माण कार्य पूरा गर्न ४५ सय श्रमिक रातदिन काम गरिरहेका छन् । मन्दिर पर्सि २३ जनवरीदेखि आमभक्तजनका लागि खुल्नेछ । श्रीराम जन्मभूमि तीथ क्षेत्र ट्रस्टको अगुवाइमा मन्दिर बनेको हो । धार्मिक आस्थासँगै राजनीतिसमेत जोडिएको राममन्दिर निर्माणको प्रभाव भारतमा त पर्ने नै छ, नेपालमा समेत बाछिटा आइपुग्ने अनुमान छ ।
प्राणप्रतिष्ठा भनेको के हो ?
राममन्दिरको प्राणप्रतिष्ठाका लागि निकै अगाडिदेखि ठूलो तयारी गरिएको थियो । हिन्दु धर्म परम्परामा प्राणप्रतिष्ठालाई पवित्र अनुष्ठान मानिन्छ । वेदहरूमा यसबारे उल्लेख पाइन्छ । शाब्दिक अर्थ हेर्ने हो भने प्राणको अर्थ ‘ज्यान’ र प्रतिष्ठाको अर्थ ‘स्थापना’ हो । यसमा चाहिँ प्राणप्रतिष्ठाको अर्थ ‘प्राण शक्तिको स्थापना’ वा देवलाई जीवन्त स्थापित गर्नु हो । कुनै मूर्ति वा प्रतिमामा देवता वा देवीको आह्वान गरी त्यसलाई पवित्र वा दिव्य बनाउन प्राणप्रतिष्ठा गरिन्छ । शास्त्रहरूका अनुसार, कुनै प्रतिमामा एकपल्ट प्राणप्रतिष्ठा भएपछि त्यो प्रतिमा देवता बन्छ । एक साताअघिदेखि दिनहुँ प्राणप्रतिष्ठाको प्रक्रिया चलिरहेको छ ।
५ सय वर्षको संघर्ष
सोमबार मन्दिरको उद्घाटनपछि हिन्दु राष्ट्रवादीहरूको एउटा संकल्प पूरा हुनेछ । यसलाई भगवान् राम ५०० वर्षको वनवासपछि अयोध्या फर्किन लागेको भनेर प्रचारसमेत गरिएको छ ।
१६औँ शताब्दीमा पनि यस्ता मान्छे थिए, जो अयोध्यामा रामको मन्दिर बनाउन चाहन्थे । १८औँ शताब्दीमा राममन्दिरको हकका लागि अदालत धाउनेहरू थिए । ५० वर्षसम्म राममन्दिरका लागि मुद्दा लड्ने पनि थिए । यसैका लागि भएको संघर्षमा ज्याने गुमाउनेहरू पनि छन् । अर्थात् अयोध्यामा रामको मन्दिर ठड्याउने हिन्दु राष्ट्रवादीहरूको ५ सय वर्ष वा त्योभन्दा अघिको संकल्प पूरा हुने चरणमा छ ।
यो भारतको सबैभन्दा विवादास्पद धार्मिकस्थलमध्ये एक किन पनि हो भने यसमा मुसलमानहरूको समेत इतिहास र दाबी छ । आजभन्दा ४ सय ९२ वर्षअघि सन् १५२८ मा यही ठाउँमा मस्जिद बनेको थियो । मुगल साम्राज्यका संस्थापक जहीरुद्दीन मुहम्मद उर्फ बाबारले मस्जिद बनाउन लगाएका थिए । सन् १५२८ देखि १५३० को बीचमा बनेको मस्जिदमा रहेको शिलालेख र सरकारी दस्तावेजअनुसार, उक्त मस्जिद बाबरको आदेशमा तत्कालीन गभर्नर मिर बाकीले बनाउन लगाएका हुन् । यसैलाई पछि बाबरी मस्जिद भन्न थालिएको हो ।
तर, बाबर वा मिरले यो जमिन कसरी हात पारे, अनि मस्जिदभन्दा अगाडि त्यहाँ के थियो भन्नेबारे अरु कुनै रेकर्ड फेला परेको छैन । मस्जिदको रेखदेखका लागि मुगल काल, नवाबी र पछि ब्रिटिस शासनमा वक्फमार्फत निश्चित रकम दिइन्थ्यो । बाबर मस्जिद रहेको जमिनलाई लिएर स्थानीय हिन्दु र मुसलमानबीच धेरैपल्ट संघर्ष भएको इतिहास छ । हिन्दुहरूको दाबीअनुसार, विवादित जमिनमा पहिला रामको मन्दिर थियो । अयोध्याको त्यो भूमिलाई हिन्दुहरू रामको जन्मभूमि मान्छन् । त्यसैले यो उनीहरूको पवित्रस्थल हो । केही विदेशी यात्रीको संस्मरण र पुस्तकमा हिन्दु समुदाय पहिलेदेखि नै मस्जिदको आसपासको क्षेत्रलाई रामको जन्मस्थान मान्दै पूजा र परिक्रमा गर्ने गरेको उल्लेख छ ।
सन् १९९२ मा बाबरी मस्जिद ढालिएपछि हिन्दु र मुस्लिम पक्षबीच कानुनी लडाइँ चुलियो । यसबीचमा त्यहाँ सानाठूला संघर्ष भए । कतिपय न्यायाधीशले त स्थलगत निरीक्षण नै गरेका थिए । तर, फैसला सम्भावित दंगालाई मध्यनजर गरी गर्ने गरिएको थियो ।
तर, नोभेम्बर २०१९ मा ऐतिहासिक फैसला सुनाउँदै भारतीय सर्वोच्च अदालतले अयोध्याको विवादित भूमिमा मन्दिर बनाउन अनुमति दिएको थियो । त्यसको वर्ष दिनपछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री मोदीले मन्दिरको शिलान्यास गरेका थिए ।
किन भैरहेको छ विवाद
भारतमा यति ठूलो हिन्दु समारोह हुँदै छ तर हिन्दु धार्मिक परम्परामा उच्च महत्त्व बोकेका चारै जना शंकराचार्यहरू यो समारोहमा उपस्थित हुने छैनन्।
तीमध्ये पुरी र जोशीमठका दुई शंकराचार्यहरूले त जमेर यो समारोहसम्बन्धी मोदी सरकारको रवैयाको आलोचना गरेका छन्। पुरीका शंकराचार्य निश्चलानन्द सरस्वतीले एउटा अन्तर्वार्तामा नरेन्द्र मोदीलाई बुद्धु र बुद्धिहीनको संज्ञा दिएका छन्।
दुवैले शुभ मुहुर्त नपर्खी हतार हतार आधा बनेको मूर्तिमा प्राण–प्रतिष्ठा गर्दा त्यसले शास्त्रको उल्लंघन हुने र अनिष्ट हुन सक्ने भन्ने आशयका चेतावनी दिइरहेका छन्।
अयोध्यामा राममन्दिर बनाउने विषय भारतीय नेताहरूका लागि लामो समय चुनावी मसला बन्यो । तर, यसको सिधा फाइदा लिन भने भारतीय जनता पार्टीका नरेन्द्र मोदी सफल देखिएका छन् । खासमा भाजपाले यसलाई आफ्नो प्रतिष्ठाको विषय बनाएको छ ।
मन्दिरको प्राणप्रतिष्ठा समारोह यस्तो बेला भइरहेको छ, जति बेला भाजपा आमचुनावको तीव्र तयारीमा छन् । अप्रिल वा मेमा हुने आमचुनावमा यसको सिधा फाइदा मोदीलाई हुनेछ । वासिङ्टन पोस्ट लेख्छ, ‘मन्दिरको उद्घाटनबाट मोदीको राजनीतिक यात्राले ठूलो रफ्तार पाउनेछ ।’
फाइनान्सियल टाइम्सले लेखेको छ, ’अयोध्यामा हिन्दु कट्टरपन्थीहरूले एउटा मस्जिद ढालेको तीन दशकपछि प्रधानमन्त्री मोदी त्यही ठाउँमा हुने भव्य हिन्दु मन्दिरको प्राणप्रतिष्ठा समारोहमा भाग लिँदै छन् । खासमा उनी लोकसभा चुनावको अभियानमा पनि छन् ।’
यो मन्दिर बनिसकेपछि इन्दिरा गान्धीपछि भारतको सबैभन्दा शक्तिशाली नेता मोदी थप बलियो र स्थायी विरासतसहितका हुनेछन् । मोदी राष्ट्रिय स्वयंसेवक संघ र भारतीय जनता पार्टीले पैदा गरेको हिन्दु पुनरुत्थानवादी आन्दोलनको लहरमा चढेर सत्तामा आएका पात्र हुन् ।