माओवादी रूपान्तरण अभियान समीक्षा, प्रचण्ड र अनन्तको सन्तुलित सन्देश
जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका अवसरमा बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव वर्षमान पुन अनन्तले पार्टी सुधार र आगामी यात्राबारे फरक फरक दृष्टिबाट सन्तुलित सन्देश दिएका छन्।
प्रचण्डले पार्टीमा जिम्मेवारी पूरा नगर्ने तर भाग खोज्नेप्रति आक्रामक भए भने वर्षमानले पार्टी र जनतासम्मका भावना समेटेर बोल्।
प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न चाहेको बताए ।
सरकारको नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा प्रस्तुत गर्ने तयारी गरिएको उनले बताए । उनले भने, “दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभङ्ग गर्नेबारे छलफल भएको छ, बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ, आज त्यसको थालनी भएको छ ।”
प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुने र त्यसका आधारमा बजेट बनाइने बताउँदै भने, “यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो, सरकारको नीति तथा कार्यक्रम, बजेटमा जनता र जनप्रतिनिधिको निगरानी, नियन्त्रण एवं हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदै छौँ ।” उनले भने, “हामीले २१औँ शताब्दीको जनवादमा भनेका थियौँ, राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौँ, यो पनि आफैँमा त्यसको एक रूप हो ।”
सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष अझ प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले बताए । उनले भने, “सरकारले एक वर्षको अवधिमा राम्रा काम गरेको छ । इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि आवश्यक प्रयास जार छ । यसले देशभित्र र बाहिर उत्साह थपेको छ । यसमा नै टेकेर आगामी वर्ष अझ राम्रो गरिनेछ, सिङ्गो पार्टीले सरकारलाई सहयोग गरोस् ।”
अध्यक्ष प्रचण्डले चाँडै नै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसपछि पार्टी अझ व्यवस्थित बन्ने बताए । उनले भने, “पार्टी विधानको मस्यौदा तयार भएको छ । चाँडै स्थायी समितिको बैठक हुनेछ । पार्टीको विधान तल्ला कमिटीमा पठाउने निर्णय गर्छौँ । विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ । यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढाइनेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ ।”
जिम्मेवारी पूरा गर्न चेतावनी
प्रचण्ड पार्टीभित्र कडा रुपमा प्रस्तुत हुने संकेत दिएका छन । उनले हेडक्वाटर वरिपरि घुम्नेले मात्र टिकट पाउँछ भन्ने कुरा आफूले सुनेको भन्दै यो पटक हेडक्वाटर भन्दा टाढाकालाई टिकट दिएको जिकिर गरे ।
‘सरी, कमरेडहरू, अहिले हेडक्वाटरबाट टाढा टाढाकालाई दिइएको छ । तपाईंले छानेर हेर्नुभयो भने गाउँमा दुःख गर्नेलाई छानेर दिइएको छ । यो छनोटमा पनि वर्गतिर फर्किने बल भएको छ भन्ने याद गर्नुहोला’, उनले भने ।
यस्तै उनले सरकारको ध्यान बढी नीति तथा कार्यक्रम, बजेटलाई वैज्ञानिक, वस्तुवादी, जनपक्षीय, परिणाममुखी बनाउनेतिर केन्द्रीत रहेको उनले दाबी गरे । ‘यसले एउटा स–सानो रेभुलुसन ल्याउने विश्वास छ’ उनले दाबी गरे । कार्यक्रममा यो पटक विगतको जस्तो ख्याल ठट्टा नठान्न समेत चेतावनी दिएका छ्न ।
‘को को केन्द्रीय सदस्यले जिम्मेवारी पुरा गरे ? अभियानमा को कोले जिम्मेवारी पुरा गरेनन् । यसलाई विगतको जस्तो ख्याल ठट्टाको विषय बन्न दिइने छैन । आउने दिनमा केन्द्रीय समिति कस्तो बनाउने आधारमा कसलाई कस्तो रोल दिने भन्ने हुनेछ,’ उनले भने ।
अनन्तको सन्तुलित सन्देश
त्यसैगरी, उप–महासचिव वर्षमान पुनले निरंकुश राजतन्त्रवादीहरूले व्यवस्थामाथि हमला सुरु गरेको र त्यो हमला आफूहरूमाथिको हमला भएको बताएका छन् ।
समीक्षा बैठक तथा अभियान समापन कार्यक्रमलाई सम्बोधन गर्दै पुनले परिवर्तनको नेतृत्वकर्ता शक्तिका हैसियतले निरंकुशतावादीहरूको चुनौती स्वीकार गर्न तयार रहेको बताए ।
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्न आफ्नो दल प्रतिबद्ध रहेको पुनको भनाइ थियो । उनले आफूहरूले कोसिस गर्दा गर्दै असफल भए पनि अर्को क्रान्तिकारी शक्तिको जन्म भएर परिवर्तनको रक्षा गर्ने उल्लेख गरे ।
“गणतन्त्रसहित उपलब्धीहरुमाथि निरंकुशतावादीहरुका तर्फबाट प्रश्न उठाउन थालिएको छ”, पुनले भने, “यो व्यवस्थामाथिको मात्र प्रश्न होइन, हामी माओवादीमाथिको पनि प्रश्न हो ।”
पूर्वअर्थमन्त्री समेत रहेका पुनले जनताको अवस्था बदल्न निरन्तर प्रयास गर्दै समाजवादी विकल्प तयार पार्नु आफूहरूको राजनीतिक द्येय भएको बताए । पुनले जनता र कार्यकर्ता तहबाट उठेका प्रश्न र असन्तुष्टिको सम्मान गर्दै सबै प्रश्नको जवाफ आफूहरुले दिने पनि बताए ।
पुनले नेतृत्वले आफ्नो वर्गीय धरातल छाडेको आरोप लाग्ने गरेको चर्चा गर्दै माओवादी सर्वहारा वर्ग, मजदुर, किसान, श्रमिक र देशभक्तहरुको पार्टी भएको दाबी गरे । उनले आसन्न विधान सम्मेलनबाट कार्यकर्ता जनताबाट र नेता कार्यकर्ताबाट अनुमोदित हुनुपर्ने प्रणाली विकास गर्ने गरी गृहकार्य भइरहेको जानकारी दिए ।