फेरियो राष्ट्रियसभामा एमालेको रणनीति, कांग्रेसले नमानेपछि माओवादीसँग माग्दै ओली
आमा माघ ११ गते राष्ट्रियसभाको १९ सीटमा निर्वाचन हुँदैछ । राष्ट्रियसभा सदस्य निर्वाचनको उमेदवारी मनोनयनको मिति नजिकिँदै जाँदा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) सहकार्यका निम्ति रणनीतिक योजना बुन्न खोज्दै छ । एमाले सत्ता गठबन्धन भत्काउने या भत्काउन सक्ने उमेदवारको खोजीमा लागेको छ ।
सत्ता गठबन्धन कायम रहे आउँदो फागुन २० गतेदेखि रिक्त हुन लागेका पद गुमाउने निश्चितजस्तै भएपछि एमालेले सिट हासिल गर्ने योजना गरेको हो । त्यसो भएमा ५९ सदस्यीय राष्ट्रियसभामा एमाले आठ सिटमा खुम्चने सम्भावना छ ।
एमालेले राष्ट्रियसभामा पहिलो दल नेपाली कांग्रेससँगै साझेदारी चाहेको छ । कांग्रेससँग राष्ट्रियसभासँगै सत्तासाझेदारीकै प्रस्ताव एमालेले राखिसकेको छ ।
स्रोतका अनुसार, एमालेले कांग्रेसलाई रिक्त हुन लागेका २० मध्ये १३ सिट आफैँ राख्न प्रस्ताव गरेको छ । उसले एक मनोनीतसहितका २० मध्ये सात सिटमा एमालेको उमेदवारी रहने गरी प्रस्ताव पठाएको थियो । तर, प्रस्तावमा कांग्रेस सभाापति शेरबहादुर देउवा सहमत देखिएका छैनन् ।
कांग्रेसले नमानेपछि ओलीले विकल्पको रूपमा माओवादी केन्द्रसँग जोडिन खोजेका छन्। यही कारण प्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ओलीले पटक पटक भेटिसकेका छन्।
स्रोतकाअनुसार २० दिन लामो झुलाघाट-चिवाभञ्ज्याङ सङ्कल्प यात्रा पूरा गरेर गत पुस २ गते काठमाडौं फर्किएका ओलीले त्यसयता प्रधानमन्त्री प्रचण्डलाई पटक-पटक भेटिसकेका छन् ।
गठबन्धन कायमै रहे राष्ट्रिय सभा निर्वाचनमा शून्य नतिजा आउने भएपछि अध्यक्ष ओली पनि अहिले प्रचण्डसँगको छलफलका लागि तात्तिएका छन् । स्रोतकाअनुसार ओलीले पछिल्लो दुई भेटमा प्रधानमन्त्री प्रचण्डलाई एमाले-माओवादी मिलेर राष्ट्रियसभा निर्वाचन लड्न प्रस्ताव समेत गरेका छन् । त्यसपछि भविष्यमा पार्टी एकतासम्मै गर्न सकिने ओलीको प्रस्ताव छ ।
यसअघि ओलीले दुई अध्यक्ष राखेर पुन: वामएकता गर्न नसकिने सार्वजनिक रुपमा बताएका थिए । त्यो बेला दोस्रो तहका नेता निरन्तर छलफलमा थिए । दोस्रो तहका नेताबीच भावि नेतृत्वका विषयमा कुरा नमिलिरहेको संकेत ओलीले गरेका थिए ।
एक एमाले नेताकाअनुसार प्रचण्ड पनि एमालेलाई समेट्न सकारात्मक छन्। सत्ता गठबन्धनमा कुनै समस्या नआउने गरी प्रधानमन्त्री प्रचण्डले एमालेलाई पनि समेट्न खोजेको ती नेताको भनाइ छ । तर, सीट नै तोकेर भने एमालेलाई प्रधानमन्त्रीले कुनै प्रस्ताव नगरेको उनले बताए ।