छिमेकी देशमा कोरोनाको नयाँ सबभेरियन्ट, नेपालमा सतर्कता आवश्यक
भारतमा पछिल्लो २४ घण्टामा थप ६२८ जनामा कोभिड–१९ पुष्टि भएको छ । जसमा कोडिभ–१९ को सब–भेरियन्ट जेएन.१ का संक्रमित ६३ जना रहेको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
पछिल्लो २४ घण्टामा केरलामा कोभिड–१९ का कारण एकजनाको ज्यान गएको छ । एकै दिन ६२८ नयाँ संक्रमित थपिएसँगै भारतमा सक्रिय संक्रमितको संख्या चार हजार ५४ पुगेको छ ।
हालसम्म भारतमा कोभिड–१९ बाट संक्रमित हुनेको संख्या चार करोड ५० लाख ९ हजार २४८ रहेको छ । संक्रमितमध्ये चार करोड ४४ करोड ७१ हजार ८६० जना निको भइसकेका छन् । मृत्यु हुनेको संख्या पाँच लाख ३३ हजार ३३४ रहेको छ ।
४१ देशमा नयाँ भेरियन्ट
कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ विश्वका ४१ देशमा फैलिसकेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार डिसेम्बर २३ सम्म ४१ देशमा जेएन.१ का केसहरू रेकर्ड गरिएको छ ।
अमेरिकामा पछिल्ला दिनहरूमा यही सब भेरियन्टका कारण कोरोना संक्रमित तीव्र बन्दै गएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी)का अनुसार पछिल्लो दुई सातामा मात्रै संक्रमितको संख्या दोब्बरले थपिएको छ । जसमा ४४ प्रतिशत जेएन.१ संक्रमित छन् ।
डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा मात्रै जेएन.१ देखिएको सीडीसीको रिपोर्ट छ ।
कोरोनाको नयाँ सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई ‘भेरियन्ट अफ इन्ट्रेस्ट’मा राख्ने गरेको छ ।
जसमा विशेषता बदलेर उपप्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब भेरियन्टहरू पर्दै आएका छन् । डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ ।
भारतमा देखिएका संक्रमितहरूमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
नेपालमा सतर्कता आवश्यक
जेएन.१ विश्वका ४१ देशमा फैलिएसँगै नेपलमा यसको जोखिमबारे चासो बढेको छ । नेपालले यसलाई हालसम्म हवाई यात्रा र स्थलगत सीमा हुँदै भारतबाट भित्रिनेहरूका लागि यात्राको कुनै थप मापदण्ड तोकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकी नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको संक्रमणबाट डराउन नपर्ने बताउँछन् । अहिले जेएन.१ लाई लिएर आत्तिनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।
उनका अनुसार सिमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्थामा राखिएको र श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न आग्रह गरिएको छ ।
यद्यपि, यसअघिका अनुभवहरूलाई हेरेर नयाँ सब भेरियन्टको जोखिमलाई नजरअन्दाज गर्न भने नमिल्ने बताउँछन्, वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन । विशेषगरी सीमा नाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनी बताउँछन् ।