एनसेल खरिद विक्री प्रकरणः आजदेखि सुरु हुँदै छ छानविन
विवादास्पद वित्तीय पृष्ठभूमि बोक्दै आएको एनसेलले यसपालिको आफनो शेयर खरिद–बिक्रीमा पनि छल गर्न खोजेको खुलासा भएपछि सरकारले यस सम्वन्धमा छानबिन गर्न गठन गरेको उच्चस्तरीय छानबिन समितिले आज (आइतबार) देखि औपचारिक रुपमा आफनो काम सुरु गर्ने भएको छ ।
पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको नेतृत्वमा सरकारले बिहीबार यसप्रकरणको समग्र विषयको अध्ययन र छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो ।
समितिमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव रितेशकुमार शाक्य र आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले सदस्य छन् । समितिले आइतबारबाटै औपचारिक रुपमा काम सुरु गर्ने बताएको छ । समितिमा रहेका सबै सदस्यबीच अनौपचारिक कुराकानी भइसकेको र अब छानबिनको काम सुरु हुने उच्चस्तरीय समितिका एक सदस्यले जानकारी दिए ।
समितिलाई ३० दिनको कार्यावधि दिइएको छ । यो समयभित्र काम सक्ने समितिको तयारी छ । एनसेलको ८० प्रतिशत सेयर रहेको आजियटाले आफ्नो स्वामित्व स्पेक्ट्रलाइट युके लिमिटेडलाई निकै कम मूल्य अर्थात् ६ अर्ब ६५ करोड रुपैयाँमा बिक्री गर्न खोजेपछि शंकास्पद मानेर सरकारले छानबिन गर्न लागेको हो ।
एनसेलले ६ अर्ब ६५ करोड (५० मिलियन डलर) मा खरिद–बिक्री भएको भनेर विज्ञप्ति जारी गरिए पनि यो कारोबार कम्तीमा ६६ अर्ब ५० करोड (५०० मिलियन डलर) को भएको बताइएको छ । ६ वर्षअघि एक खर्ब ४३ अर्बमा ८० प्रतिशत सेयर खरिद–बिक्री हुँदा एनसेलले पुँजीगत लाभकर नतिर्ने चाल चलेको थियो । तर नेपालको कर कार्यालयले तोकेको करिब ६६ अर्ब कर नेदरल्यान्ड्सको हेगस्थित अन्तर्राष्ट्रिय ट्रिबुनलबाट पनि अनुमोदन भइसकेको छ । अझ, यसपालि त कारोबार रकम नै कम्तीमा ९० प्रतिशत घटाइएको छ ।
यसअघि श्रीमती भावना सिंह श्रेष्ठको नाममा रहेको सुनिभेरा क्यापिटल भेन्चर्सबाट एनसेलको २० प्रतिशत सेयर हात पारेका गैरआवासीय नेपाली सतीशलाल आचार्यले यसपालि थप ८० प्रतिशत सेयर लिने सम्झौता गरेका छन् । सिंगो एनसेल एकै परिवारको पकडमा परेपछि यसको आर्थिक स्रोत ढाकछोप गर्न मूल्य कम देखाउने खेल भएको देखिएको छ ।
प्रधानमन्त्री कार्यालयको आग्रह
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वकीय सचिवालयले तथ्य प्रमाणविना झुट्टा प्रचार नगर्न सम्बन्धित सबैमा आग्रहसमेत गरेको छ । केहीदिन अघि प्रधानमन्त्री र स्वकीय सचिवको नाम एनसेल प्रकरणमा मुछेर दुस्प्रचार गरेकामा पनि सचिवालयले आपत्ति जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले प्रधानमन्त्री र सचिवालयमाथि लगाइएका त्यस्ता आरोपको पुष्टि गर्न चुनौतीसमेत दिएका छन् । यसै विषयलाई लिएर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालबाट झुट्टा प्रचार भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उनले यसप्रकारका दुस्प्रचारबाट भ्रमित नहुन सबैमा आग्रह गरे ।
कानुन विपरित एनसेलको शेयर खरिदबिक्री प्रक्रिया अघि बढाउन सक्रिय समूह गैरकानुनी कार्य रोक्न लागि परेको सरकारविरुद्ध नै झुट्टा प्रचारवाजीमा उत्रिएको भन्दै सल्लाहकार आचार्यले सरकारले एनसेलको अवैध कार्य रोक्ने र गैरकाननुनी कार्यमा संलग्नमाथि कडा कानुनी कारबाही गर्ने स्पष्ट पारे ।