यात्रामा रहेको एमालेको नाटक, ओली लोकप्रिय देखाउन अनेक प्रपञ्च

मूलखबर संवाददाता
काठमाडौं

नेकपा एमालेमा कुनै बेला सर्वशक्तिमान मानिने अध्यक्ष केपी ओली कमजोर हुन थालेको विश्लेषण भइरहेको छ। उनको बोली पार्टीमा विक्न छोडेको धेरै भैसकेको छ।

भदौ तेस्रो साता नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशन गर्दा सर्वसम्मत नेतृत्व चयन गराउने पक्षमा ओली थिए। तर, एमालेमा ओलीको जोर चलेन र उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलको प्रतिस्पर्धा मैदानमा देखियो। लुम्बिनीको अधिवेशन उद्घाटन सत्रमा ओलीले भनेका थिए, ‘मेरो अन्तिम निष्कर्ष चुनावमा भरसक नजानुस्। लुम्बिनीले नमूना देखाउँछ भनेर पहिले नम्बरमा राखेका हौं। एउटा पद नहुँदैमा केही बिग्रिँदैन। नेतृत्वले पार्टी हितविपरीत केही पनि सोच्दैन। तपाईँहरू एकताबद्ध भएर जानैपर्छ। तपाईँहरू पार्टीलाई के असर पर्छ भनेर सोचेर जानुपर्छ।’

तर प्रदेश अधिवेशनले ओलीको अटेरी मात्र गरेन धेरै ठाउँमा उनले नचाहेकाहरू निर्वाचित भएर आएका छन्।

अहिले एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान चलिरहेको छ । यही क्रममा क्रममा अध्यक्ष केपी शर्मा ओलीलाई लोकप्रिय भएको देखाउन एमालेले अनेक नाटक गरिरहेको छ।

कहिले ओलीको गेरु अवतारका फोटो, भिडियोले सामाजिक सञ्जाल सेलाउन नपाउँदै स्कुले बालबालिकाले केपी ओलीको समर्थनमा नारा लगाएको भिडियोले सामाजिक सञ्जाल तातिएको छ।

एमालेले आयोजना गरेको कार्यक्रममा ओली अछाम पुग्दा त्यहाँस्थित विद्यामन्दिर नमूना माध्यामिक विद्यालयका बालबालिकाहरुले केपी ओलीको समर्थनमा नारा लगाएका हुन्।

राजनीतिक गतिविधिमा बालबालिकाको प्रयोग नगर्ने भनेर राजनीतिक दलहरुले प्रतिवद्धता जनाए पनि त्यो रोकिन भने सकेको छैन। बालबालिकाको हक अधिकारसँग सरोकार राख्ने विभिन्न संघ संस्था र मानव अधिकार आयोगले पनि बालबालिकालाई राजनीतिक क्रियाकलापमा प्रयोगमा वर्जित गरेका छन्।

तर अछाममा ओली पुग्दा स्कुलका शिक्षकहरुले नै विद्यालयका सबै बालबालिकालाई भेटघाट र स्वागत गर्ने तारतम्य मिलाएका हुन्। एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग केन्द्रित विशेष अभियान अन्र्तगत गत आइतबार अछामको पंचदेवलमा पनि कार्यक्रममा राखिएको थियो।

एमालेको कार्यक्रम स्थलभन्दा झन्डै चार सय मिटर नजिक रहेको मध्यपहाडी राजमार्गसँगै जोडिएको विद्यामन्दिर नमूना माध्यमिक विद्यालयका बालबालिकाले स्कूलकै गेटमा ओलीलाई भेटेका हुन्। ओलीलाई भेट्न उनीहरु स्कूलको गेट बाहिर लामै लस्करमा उभिएका थिए। लाइनभन्दा पछाडि छरपस्ट भएर पनि विद्यार्थीहरु उभिएका थिए। लाइनको सुरुमा शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहितका व्यक्तिहरु पनि थिए।

जब लाइन लागेका उनीहरुले ओलीलाई फूल दिएर स्वागत गर्न थाले, स्कूलको पोशाकमै रहेका अन्य विद्यार्थीहरु हौसिएर केपी बा हाई हाई, अरु सबै बाई बाई भनेर नारा लगाउन थाले। नारा लगाउनेमा छात्राहरु बढी थिए। विद्यार्थीले ओलीको जयजयकार आफैँ गरे वा गर्न लगाइयो भन्ने मुख्य प्रश्न हो।

ओली राजनीतिमा होस् वा अन्य गतिविधिमा नै किन नहोस्, समाज र सञ्चारमाध्ययमको ध्यान आफूतिर खिचिरहन चाहन्छन्। पछिल्लो दृष्टान्तको रुपमा डडेलधुराबाट पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई टेलिफोन मार्फत गरेको संवादलाई लिन सकिन्छ।

पार्टी कार्यक्रममा डडेलधुराको गन्यापधुरा नजिकै पुगेपछि उनले देउवालाई फोन गरेर जयनेपाल भनेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।

देउवाको गृहजिल्ला पुगेर ओलीले उनलाई सम्झिनुलाई केही हदसम्म सकरात्मक रुपमा लिन सकिएला तर नियोजित तवरले भिडियोलाई सामाजिक सञ्जालमा छरपस्ट पार्नुचाहिँ प्रचारको लोभबाहेक केही नभएको राजनीतिक र नागरिक तहमा टिप्पणी भएका छन्।

अछाममा बालबालिकाले ओलीप्रति देखाएको उक्त व्यवहार स्वतस्फूर्त भएको विद्यालय व्यवस्थापक पक्षले दाबी गरेको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर बुढाले विद्यार्थीको आग्रहमा शिक्षक र व्यवस्थापन समितिको समन्वयमा ओलीसँग भेट गराएको बताउँदै नारा भने विद्यार्थीले आफै लगाएको सुनाए।

विद्यार्थीको भन्दै नक्कली पत्र सार्वजनिक

ओलीको यात्राका क्रममा उनलाई सुर्खेतका बालक किशोर पौडेलले स्वदेशमै काम गर्ने वातावरण बनाउन आग्रह गरेको भन्दै पत्र सार्वजनिक गरिएको छ।

९ वर्षीय बालक पौडेलले कापीको पानामा पत्र लेख्दै अध्यक्ष ओलीलाई युवाअवस्था पुगेसँगै पेट पाल्न विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्न आग्रह गरेको दावी ओलीको सचिवालयले उनको फैसबुकमा गरेको छ।

किशोरले लेखेको भनिएको उक्त पत्र सामाजिक सञ्जाल फेसबुकमा हाल्दै अध्यक्ष ओलीले लेखेका छन्, ‘हामीले मध्य पहाडी राजमार्ग निर्माण थालेको पनि त्यसैका लागि हो, भेरी बबई डाइभर्सन पनि कृषि उत्पादन बढाउनकै लागि हो, यसलाई छिटो सम्पन्न गर्नु पर्छ। ग्रामीण विद्युतीकरण, इन्टरनेट विस्तार पनि यसैका लागि गरेका हौं। सुर्खेत, सल्यान, जाजरकोट, रुकुममा चिल्ला सडकहरू बनेका छन्। यी बाबुको सपना पूरा गर्न यसले सघाउँदै जान्छ।’

यद्यपि उक्त पत्र नक्कली भएको धेरैले आशंका गरेका छन्। नेपाल खबरका सम्पादकीय समूहमा रहेका पत्रकार सीताराम बरालले लेखेका छन्, यो नौ वर्षको बच्चाको अक्षर होइन, कदापि होइन ! त्यति उचाईको नेताबाट यति तल्लो स्तरको कलाविहीन नाटक ! हरे ठोरीका राम !!”

यो यात्रमा ओलीलाई लोकप्रिय देखाउन उनको सचिवालयले अनेक नाटक गरिरहेको बुझ्न कठिन छैन।