भूकम्प प्रभावितलाई दोस्रो किस्ताको रकम दिन ढिला हुदैन : गृहमन्त्री श्रेष्ठ

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ, १४ मंसिर २०८०
जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि सरकारले दिने दोस्रो किस्ताको रकम दिन ढिला नहुने भएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीवार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै भूकम्प प्रभावितहरुलाई अस्थायी आवास निर्माणका लागि दिइने ५० हजार रुपैयाँमध्ये पहिलो किस्तामा नगदै २५ हजार रुपैयाँ दिइने बताउनु भयो ।

उहाँले अस्थायी आवास निर्माणका लागि मात्रै ५ अर्ब रुपैयाँ चाहिने जानकारी दिनुभयो । गृहमन्त्री श्रेष्ठले पुनर्निमाणको सम्बन्धमा आँकडा बनाएर दाता राष्ट्रहरु र दातृ निकायहरु सँग छलफल गरी योजना बनाएर काम गर्ने बताउनु भयो ।

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा गरी कुल १ सय ५४ जनाको मृत्यु र ३ सय ६६ जना घाइते भएका थिए । जाजरकोटमा पूर्ण क्षति भएको घरको संख्या ९ हजार ७९४ र आंशिक क्षति २४ हजार घरमा भएको थियो । रुकुम पश्चिममा १६ हजार ५७० घर पूर्ण क्षति, ९ हजार ९६१ आंशिक क्षति हुनुका साथै १६ वटा सार्वजनिक भवन पूर्ण क्षति र २१ वटा आंशिक क्षति भएको जनाइएको छ । त्यस्तै रुकुम पूर्वमा १५० घर, सल्यानमा ६ सय बढी घर, रोल्पामा १०० बढी घर र प्युठानमा ३१ घरमा क्षति पुगेको छ ।