एमालेको अभियान आजदेखि, झुलाघाटमा झण्डोत्तलन र चिवाभञ्ज्याङमा समापन
नेकपा (एमाले)ले आजदेखि मध्यपहाडी लोकमार्गकेन्द्रित अभियान सुरु गर्दै छ । अभियानका लागि नेताहरु काठमाडौंबाट बैतडीको झुलाघाट पुगेका छन्।
एक हजार ८७९ किलोमिटर लामो लोकमार्गको यात्राको आजै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्दै छन् । एमालेका कार्यालय सचिव डा. भिष्म अधिकारीका अनुसार अध्यक्ष ओलीले झुलाघाटमा झण्डोत्तलन गरेपछि अभियानको सुरुआत हुनेछ ।
पहिलो दिनको सभा बैतडीको गोठालापानीमा गर्ने तय भएको छ । गोठालापानीमै बास बस्ने ओली सहितको टोलीले त्यहाँबाट साढे १८ किलोमिटर पश्चिम झुलाघाट पुगेर बिहीबार बिहान ८ः३० बजे क्याराभानको सुरुवात गर्नेछ । त्यहाँ अध्यक्ष ओलीले उद्घाटन मन्तव्य राख्ने केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए । ‘अध्यक्ष कमरेडले झण्डोत्तोलन गरेपछि एमालेको गाडी अगाडि बढ्छ, त्यो क्याराभान तीन सातामा पूर्वको चिवाभञ्ज्याङ पुगेर टुंगिनेछ’, अधिकारी भन्छन् ।
१८ दिन १४ सभा
एमालेले यो अभियान १८ दिन चल्ने बताएको छ । त्यसबीचमा १४ सभा गर्ने र सबै सभामा अध्यक्ष केपी ओलीले छोटो र सम्झिप्त सम्बोभन गर्ने गरी एमालेले कार्यतालिका बनाएको छ ।
अभिायन सभापन भएको भोलिपल्ट १९ औँ दिनमा एमालेको टोली पाँचथरबाट काठमाडौँ फर्कनेछ ।
बैतडीको गोठालापानी, दिपायलकोअमरगढी, अछामको मंगलसेन, दैलेखको राकम, सुर्खेतको सुर्खेत बजार, रुकुमकोटको वामी टक्सार, पर्वतको कुश्मा, गोरखाको सुन्दरबजार, नुवाकोटको विदुर, काभ्रेपलाञ्चोकको मण्डन, दोलखाको चरिकोट, ओखलढुंगाको हर्कपुर, भोजपुरको वसन्तपुर र पाँचथरको फिदिममा एमालेले सभा गर्ने गरि तय गरेको छ ।
कुन दिन के हुन्छ ?
पहिलो दिन झुलाघाट हिँडेको एमालेको अभियान टोली अमरगढी पुगेर बास बस्नेछ । सोही दिन त्रिपुरासुन्दरी, खोड्पे, र अनारखोलीमा भेटघाट गर्दै एमालेको टोलीले गोठालापानीमा आरम्भ सभा गरेर तुफान डाँडामा थप कार्यक्रम राखेको छ । दोस्रो दिन अमरगढीबाट हिँडेको टोली सिलगढीमा बास बस्दै सकाली, गोपघाट, राजपुर चोक दिपालमा भेटघाट गरेर सिलगढीमै कोणसभा गर्नेछ ।
तेस्रो दिन अछामको साँफेबगर हुँदै चौखुट्टे, मार्कु बयलपाटामा भृटघाट गरेर मंगलसेनमा सभा गर्नेछ । चौथो दिन दैलेख पुग्ने एमाले टोलीले गौरी टाँड, शीरस्थान, दैलेख बजार हुँदै राकममा सभा गर्नेछ । पाँचौँ दिन एमालेको टोली सुर्खेतका लागि प्रस्थान गर्नेछ । सोही दिन सुर्खेतमा सभा र भेटघाटपछि रुकुमकोटको रातमाटे, भेरीबबई डाइभर्सन सल्लीबजार र सेरी गाउँमा भेटघाट गरेर रिम्नामा पुनर्निर्माणसम्बन्धी छलफल गर्नेछ ।
सातौँ दिन वामी टक्सारमा सभा गरेर आठौँ दिन बाग्लुङ हुँदै कुश्मामा पुगेर सभा गर्ने कार्यक्रम तय गरेको एमालेले नवौँ दिन पोखराका लागि प्रस्थान गर्नेछ । सो दिन पोखरामा बास बस्ने बास बस्न गोरखा आउने छ । गोरखामा भोर्लेटार, धमिलीकुवा, पालुङटारमा भेटघाट गरेर सुन्दर बजारमा सभाको आयोजना गर्नेछ ।
दशौँ दिन आरुघाटमा भेटघाट हुँदै नुवाकोटको विदुर पुग्ने र सोही स्थानमा भेटघाट राखेको छ । विदुरमा सभा गरेर ११ औँ दिन मङ्सिर २४ गते चिसापानी धुलिखेल हुँदै काभ्रेको मण्डन र कुन्तावेसीमा सभा गर्नेछ । १२ औँ दिन धुलिखेलबाट दोलखाको दोलालघाट, खाँडीचौर, हुँदै चरिकोट पुगेर कोणसभा गर्नेछ ।
त्यसपछि रामेछापको मन्थली, उदयपुरको घुर्मी हुँदै ओखलढुंगाको हर्कपुरमा सभा गर्नेछ । चौधौँ दिन दिक्तेल, भोजपुरलगायतका जिल्लामा भेटघाट गर्ने टोलीले मङ्सिर २८ मा भोजपुरबाट पाँचथर र तेह्रथुमतर्फ लाग्ने छ । त्यसपछि पाख्रिवास हुँदै वसन्तपुर पुगेर सभा गर्ने टोलीले संक्रान्तिबजार, म्याङ्लुङ हुँदै १७ औँ दिनका दिन पाँचथरको फिदिममा सभा गर्नेछ ।
१८ औँ दिन पुस १ गते फिदिमबाट सम्भावित भेटघाट च्याङथापुमा गर्ने र त्यहाँबाट काठमाडौँका लागि प्रस्थान गर्नेछ । पुस ५ गते काठमाडौँमा औपचारिक रूपमा यात्राको समापनको सूचना सम्प्रेषण गर्ने एमालेको तयारी छ ।
एमाले नेताहरूका अनुसार अभियानका क्रममा नेताहरूका सवारीसाधनका अतिरिक्त चारवटा विशेष टिम संलग्न हुने । जसमा एम्बुलेन्ससहितको मेडिकल टिम, सवारीसाधन मर्मत सम्भार गर्ने मेकानिकल टिम, केन्द्रीय प्रचार टिमका साथै न्यूनतम २० जना दक्ष स्वयंसेवकका लागि चारवटा गाडी सहभागी हुनेछन् । अभियानमा सहभागी सबै केन्द्रीय नेताहरूले सवारीसाधनको इन्धनको प्रबन्ध आफैँले गर्नुपर्नेछ । त्यस्तै, सहभागी सबैले नियमित सेवन गर्ने औषधि, न्यानो कपडा, स्लिपिङ ब्याग, ड्राई फुड, मोबाइल चार्जर र आफूलाई आवश्यक पर्ने रकम पनि बोकेर हिँड्नुपर्नेछ ।