गोलमेचको तयारी, अर्थतन्त्रबारे छलफल गर्न प्रचण्डले आज गर्दैछन् बैठक
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सुधारका लागि आज छलफल गर्दै छन् । अर्थतन्त्रसम्बन्धी छलफल गर्न उनले बृहत् बैठक आह्वान गरेका हुन् ।
सरकारको नेतृत्व गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको र अहिले अर्थतन्त्रमा राम्रो सुधार आएको भन्दै उनले बैठकमा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताएका छन् ।
बैठकले ठोस प्याकेज घोषणा गर्ने र अर्थतन्त्रमा सुधार ल्याउने प्रधानमन्त्रीको दाबी छ ।
सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतलाई डाकेका छन्।
सोमबारको बैठक अनौपचारिक हुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। ‘सोमबारको बैठक ब्रिफिङका लागि मात्र हो। यसमा सरकारी निकायहरुबीच आन्तरिक ब्रिफिङ हुने र गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुनेछ,’ आचार्यले भने।
शुक्रबार दिउँसो तनहुँको आबुखैरनीमा आयोजित पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सोमबारका लागि बैठक बोलाएको बताएका थिए।