बाबुरामकाे नेसपा र माओवादी केन्द्र एकता नजिक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुर्व माओवादी धाराहरूबीच छिटो एकता हुने संकेत गरेका छन् । माओवादी केन्द्रले पुर्वि रूकुमकाे मैकाेटमा आयाेजित कार्यक्रममा बाेल्दै माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले डा. बाबुराम भट्टराई र नेत्र विक्रम चन्द विप्लवसँग निरन्तर छलफल भएकाे र एकताकाे निकट पुगेको बताएका हुन् ।
विप्लवसँग आज विहान पनि भेट भएकाे छ, बाबुरामजिसँग त पटकपटक कुरा भएकाे छ, एकता कार्यदलले काम गरिरहेकाे छ´, प्रचण्डले अगाडि भने,
परिवर्तन पक्षधर सबै एकजुट हुने अवस्था सिर्जना हुँदैछ ।´
आजै माओवादी केन्द्र र बाबुराम नेतृत्वको नेसपाबीच माओवादी केन्द्र मुख्यालय पेरिसडाँडामा एक सहमति भएको छ । एकता कार्यदलले नाम, चुनाव चिन्ह लगायतका विषय र एकताको माेडालिटिबारे छलफल भएको माओवादी उपाध्यक्ष तथा एकता कार्यदल प्रमुख कृष्णबहादुर महराले बताएका छन् ।
दुवै दलका वार्ता समितिबीच भएको आइतबार (मंसिर ३ गते) भएको छलफलपछि ‘पार्टी एकता संयोजन समिति’ गठन गर्न सुझाव दिने निर्णय भएको समितिले जनाएको छ।
माओवादी वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र समाजवादीका वार्ता टोली संयोजक गंगानारायण श्रेष्ठद्वारा आइतबार प्रेशित विज्ञप्तिमा ‘बैठकमा पार्टी एकताको लागि दुवै पार्टी केन्द्रलाई पार्टी एकता संयोजन समिति गठन गर्न सुझाव दिने साथै उक्त पार्टी एकता संयोजन समितिले दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, संगठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको’ जनाइएको छ।