सानफ्रान्सिस्को गार्डेनमा सी-बाइडेन वार्ता, चिनियाँ मिडिया भन्छ- सदिच्छापूर्वक संवाद

मूलखबर संवाददाता
काठमाडौं

चीनका राष्ट्रपति सी चिनफिङ ६ वर्षपछि अमेरिका भ्रमणमा छन्। स्थानीय समय अनुसार नोभेम्बर १५ तारिख, अमेरिकाको सानफ्रान्सिस्को फिलोली गार्डेनमा अमेरिकाका राष्ट्रपति बाइडेन र पाहुना समकक्षीबीच शिखर वार्ता भएको छ।

दुई मुलुकका राष्ट्रनायकले चीन अमेरिका सम्बन्धबारेको रणनैतिक दृष्टिकोण तथा समस्या र विश्व शान्ति तथा विकासबारेको महत्वपूर्ण विषयबारे सदिच्छापूर्वक गहन वैचारिक आदानप्रदान गरेको चिनियाँ सञ्चार माध्यमले जनाएका छन्।

विश्वको राजनैतिक परिदृश्यमा धेरै परिवर्तन भइरहँदा अमेरिका र चीनबीचको सम्बन्ध चिसिँदै गएको छ। दोस्रो वर्षमा चलिरहेको रुस–युक्रेन युद्धले विश्वको आर्थिक सन्तुलनलाई नै प्रभावित बनाएको छ। एक महिनादेखि जारी इजरायल–हमास द्वन्द्वले पनि विश्वलाई विभाजित गरेको छ। यी युद्धमा चीन र अमेरिका फरक ध्रुवमा छन्।

यो विषम अवस्थामा सी चिनफिङ सान फ्रान्सिस्कोमा हुने एशिया प्यासिफिक इकोनोमिक कोअपरेसन समिट (एपेक) मा भाग लिन अमेरिका पुगेका हुन्।

भ्वाइस अफ अमेरिकालाई उधृत गर्दै भारतीय सञ्चारमाध्यम भास्कर दैनिकले जनाएअनुसार सी र बाइडेनबीच करिब चार घण्टा वार्ता भएको थियो।

 बाइडेनलाई उधृत गर्दै अलजजिराले जनाएअनुसार द्विपक्षीय वार्तामा चीन र अमेरिकाबीच सामान्य सञ्चार पुनर्स्थापना र सैन्य सम्पर्कबारे कुरा भएको छ। सी र बाइडेनबीच इजरायल–हमास र रुस–युक्रेन युद्धमाथि पनि छलफल भएको जनाइएको छ।

सी अमेरिका पुगेकै दिन इजरायली सेना गाजा क्षेत्रको सबैभन्दा ठूलो अस्पताल अल–शिफामा प्रवेश गरेको छ। हजारौँ बिरामीको उपचार भइरहेको र ठूलो संख्यामा नागरिकहरूले आश्रय लिइरहेको भनिएको उक्त अस्पतालमुनि हमासको ‘कमान्ड सेन्टर’ रहेको भन्दै इजरायली सेना त्यहाँ प्रवेश गरेको हो।

यसअघि, मंगलबार अमेरिकाले उक्त अस्पताललाई हमासले बन्धकहरू राख्न प्रयोग गरेको आरोप लगाएको थियो। अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले गाजाका अस्पतालहरूलाई हमासले ‘कमान्ड सेन्टर’ बनाएको बताएका थिए। त्यसलगत्तै इजरायली सेना उक्त अस्पतालमा प्रवेश गरेर ‘निश्चित क्षेत्र नियन्त्रणमा लिँदै कारबाही गरेको’ थियो।

हमासले भने अमेरिकाले इजरायललाई अस्पतालहरूमाथि आक्रमण गर्न ‘ग्रिन सिग्नल’ दिएको दाबी गरेको छ। गाजामा इजरायलले गरिरहेको नरसंहारको जिम्मेवार अमेरिकी राष्ट्रपति बाइडेन भएको हमासको दाबी छ। यहीबीच, चीनले इजरायललाई युद्ध रोक्न आह्वान गरेको छ।

यसअघि, सन् २०१७ मा सीले अमेरिका भ्रमण गरेर तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका थिए। त्यसबेला पनि ट्रम्प र सीले भेटवार्ताबाट दुई पक्षका असमझदारीलाई साँघुरो बनाइएको बताएका थिए। उनीहरूले सम्बन्धमा व्यापक सुधार आएको दाबी गरे पनि ठोस समझदारी के भयो भनेर बताएका थिएनन्। उक्त वार्तापछि अमेरिका र चीनबीचको सम्बन्धमा खास सुधार भने देखिएको थिएन।

न्यूयोर्क टाइम्सका अनुसार यो वार्ताबाट कुनै ठूलो नतिजाको अपेक्षा गर्नु उचित हुँदैन। अहिलेको सन्दर्भमा यी देशले आपसी सम्बन्धलाई थप बिग्रन नदिनु महत्त्वपूर्ण रहेको बताइएको छ।