भूकम्प पीडितलाई माओवादीको सहयोग र सद्भाव, उद्दारदेखि राहतसम्ममा नेतृत्व

मूलखबर संवाददाता
काठमाडौं

जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति गएको ६.४ म्याग्निच्युडको भूकम्पपछि कुनै पार्टी सबैभन्दा बढी सक्रिय छ भने त्यो हो माओवादी केन्द्र।

विपद्पछिको काबुमा राख्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार २४ सै घण्टा सक्रिय छ भने पार्टीका नेता कार्यकर्ता प्रभावित क्षेत्रदेखि सिंहदरबारसम्म सक्रिय छन्।

भूकम्प जानासाथ आफू र आफ्नो परिवारका सदस्य सकुशल रहेका सबैजसो जनप्रतिनिधि उद्धारमा खटिएका थिए । उनीहरूले प्रहरी, जिल्ला प्रशासन र स्थानीयसँग समन्वय गरेका थिए । अधिकांश जनप्रतिनिधि रातभर खटिएका थिए । यसपटक जाजरकोट र पश्चिम रुकुमका स्थानीय तहले गाउँमा सिंहदरबार पुगेको अनुभूति दिलाएका छन् ।

माओवादीले केन्द्रदेखि पालिकासम्म गाउँगाउँमा सिंहदरबार स्थापना भएको तथ्यलाई भूकम्पपछिको विपद्का बेला साच्चिकै पुष्टि गरेको छ। यसैबीच माओवादी केन्द्रले जाजरकोट-रुकुमपश्चिमका भूकम्पपीडितका लागि ५० लाख जम्मा गरेको छ ।

माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली मङ्गलबार बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

प्रदेश कमिटीको छुट्टै सहयोग

माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ। प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोंगबु नयाँबसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन्।

४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्बद्ध मजदुर संगठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताए।’

यस्तै सिरक, त्रिपाल र म्याट ४/४ सय थान तथा ४ सय क्विन्टल चामलसमेत पठाउन लागिएको पुनले जानकारी दिए। बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्षा पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो।

उनले प्रभावितहरु नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए।

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर शुक्रबार राति गएको ६.४ रेक्टर स्केलको भूकम्पका कारण जाजरकोटमा १ सय ४ र रुकुमपश्चिममा ५३ गरी १ सय ७५ जनाले ज्यान गुमाएका छन्।

माओवादी केन्द्रले पनि भूकम्पका कारण पूर्व निर्धारित कार्यक्रम स्थगित गरेको छ । माओवादी केन्द्रका महासचिव देव गुरुङका अनुसार भूकम्पको कारण मंसिर २२ मा हुने भनिएको जनप्रदर्शन कार्यक्रम स्थगित गरिएको छ ।

यस्तै माओवादीले चियापान लगायतका कार्यक्रम पनि तिहारसम्मका लागि स्थगित गरेको छ । माओवादी केन्द्रले पार्टीको रुपान्तरण अभियान भने जारी राखेको छ तर राहतका कामका रूपमा मात्र त्यसलाई पनि कायम राखिएको छ।

रोल्पाका जनप्रतिनिधि एवं उपमहासचिव वर्षमान पुन छिमेकी जिल्लामा आइपरेको विपद् टार्न आफ्नै हिसाबले सक्रिय देखिएका छन् । अनेरास्ववियु क्रान्तिकारीले पनि उपाध्यक्षको कमाण्डमा छुट्टाछुट्टै टोली प्रभावित क्षेत्रमा पठाएको छ । माओवादीले तीनै तहका सरकार, सुरक्षा निकाय, सामाजिक संघसंस्थालगायत आम नागरिकलाई राहत तथा पुनर्निर्माणमा लाग्न अपिल गरेको छ ।