पीडाको समयमा छिमेकी र मित्रको साथ, चीन, भारतदेखि अमेरिका र रुससम्मका सन्देश
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पपछि उत्पन्न पीडाको अवस्थामा छिमेकी तथा मित्र देशहरूले सहयोगको भाव व्यक्त गरेका छन्। छिमेकी भारत र चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउन नेपाल सरकारसँग अनुमति मागेका थिए।
जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले ठूलो जनधनको क्षति गरेपछि भारत र चीन दुवैले आफ्ना खोज तथा उद्धार टोली पठाउन खोजेका हुन् ।
भारत र चीनले अनुमति मागे पनि नेपाल सरकारले भने तत्काल खोज तथा उद्धार टोली आवश्यक नभएको जवाफ दिएको छ । “भारत र चीन दुवैले खोज तथा उद्धारका लागि तत्काल टोली पठाउन तयार छौं, यसका लागि टोली तयारी अवस्थामा छ भनि अनुमति मागेका थिए,” उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भने, “हामीले दुवै देशलाई धन्यावाद दिँदै, अहिले खोज तथा उद्धार टोली आवश्यक नरहको जानकारी दिएका छौँ ।”
मोदीको साथ
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा गएको भूकम्प कारण भएको जनधनको क्षतिमा दु:ख व्यक्त गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत उनले नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख लागेको बताएका हुन्।
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दु:ख लागेको छ। भारत सरकार नेपाली जनतासँग ऐक्यबद्ध छ र हरसम्भव सहयोग गर्न तयार छ,’ उनले लेखेका छन्।
यस्तै भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन्।
चीनको १० करोड
चीनले जाजरकोट भूकम्पपीडितका लागि रु १० करोड बराबरको सहायता सामग्री उपलब्ध गराउने घोषणा गरेको छ ।
नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल एक्समा उक्त रकम बराबरका आपत्कालीन सहायता सामग्री प्रदान गर्ने घोषणा गरेका हुन् । त्रिपाल, कम्बललगायत राहत सामग्री चीनबाट नेपालतर्फ पठाइएको र केही दिनभित्रै ती सामग्री नेपाल सरकारमार्फत पीडितलाई प्रदान गरिने जनाइएको छ ।
चिनियाँ राजदूत छेन सोङले जाजरकोट भूकम्पप्रति दु:ख जनाएका छन्। उनले यो विपतको अवस्थामा चीन नेपालीहरु सँगै उभिरहने बताएका छन्।
पुठिनले पठाएको सन्देश
रूसका राष्ट्रपति भ्लादिमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।
उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरूका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
अमेरिका पनि तयार
अमेरिकी दूतावासले जाजरकोट भूकम्पका पिडित र प्रभावितलाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको बनाएको छ। संयुुक्त राज्य अमेरिकी दूतावासले गएराति जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूको खबरप्रति दुःख व्यक्त गरेको छ।
यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासले जनाएको छ।