विश्वकप क्रिकेटः न्युजिल्यान्डमाथि दक्षिण अफ्रिकाको सहज जित
आईसीसी एकदिवसीय विश्वकपमा दक्षिण अफ्रिकाले साविक उपविजेता न्युजिल्यान्डमाथि १९० रनको फराकिलो जित निकालेको छ ।
बुधबार भारतको पुनेस्थित महाराष्ट्र क्रिकेट रंगशालामा सम्पन्न खेलमा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको ३५८ रनको लक्ष्य पछ्याउने क्रममा न्युजिल्यान्ड ३५.३ ओभरमा १६७ रनमै समेटियो ।
न्युजिल्यान्डका ग्लेन फिलिप्सले ६० रन बनाए पनि टिमको हार टार्न सकेनन् । विल योङले ३३ र डार्यल मिचेलले २४ रन थपे । यसबाहेक, न्युजिल्यान्डका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
न्युजिल्यान्डलाई सस्तैमा समेट्न दक्षिण अफ्रिकाका केशव महारेजले चार विकेट लिए । मार्को जान्सेनले तीन, गेराल्र्ड कोएट्जीले दुई र कगिसो रबाडाले एक विकेट लिए ।
त्यसअघि ओपनर क्विन्टन डी कक र रसी भान डेर डुसेनको शतकप्रेरित दक्षिण अफ्रिकाले टस हारेर ब्याटिङमा आएर निर्धारित ५० ओभरमा चार विकेट गुमाएर ३५७ रनको योगफल खडा गरेको थियो ।
दक्षिण अफ्रिकाका रसी भान डेर डुसेनले १३३ रन बनाए । उनले ११८ बलमा नौ चौका र पाँच छक्का प्रहार गरे । उनले दोस्रो विकेटका लागि ओपनर क्विन्टन डी ककसँग २०० रनको साझेदारी गर्दै दक्षिण अफ्रिकाको बलियो आधार खडा गरेका थिए । डी ककले ११६ बलमा १० चौका र तीन छक्कासहित ११४ रन बनाए ।
यसबाहेक, डेविड मिलरले ५३, कप्तान टेम्बा बवुमाले २४ हेन्रिक क्लासेनले १० रन थपे ।
न्युजिल्यान्डका टिम साउदीले दुई विकेट लिए । ट्रेन्ट बोल्ड र म्याट हेनरीले समान एक विकेट लिए ।
जितसँगै सात खेलबाट १२ अंक जोडेको दक्षिण अफ्रिका तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट आठ अंक जोडेको न्युजिल्यान्ड तालिकाको चौथो स्थानमा छ ।