असिनाले फलफूल, तरकारी र अन्नबाली सखाप, मर्कामा किसान

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । मनसुन बाहिरिएलगत्तै सुदूरपश्चिम क्षेत्रका उच्च हिमाली भेगमा हिमपात र पहाडी जिल्लाहरुमा असिना पानी परेको छ । यस वर्षको हिउँदको पहिलो हिमपात र असिना पानीले फलफूल तथा तरकारी बालीमा क्षति पुर्याउनुका साथै चिसो पनि बढेको छ ।

भारतको जम्मु्काश्मिर हुँदै नेपालको दार्चुला जिल्लाबाट प्रवेश गरेको पश्चिमी वायुको प्रभावले असिना पानी र हिमपात भएको मौसमविदहरुले बताएका छन् ।

मौसमविद गंगा नगरकोटीका अनुसार यो प्रणाली पश्चिम नेपालबाट क्रमशः पूर्वतिर सर्दै गएको छ । त्यसैले सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भेगमा भोलिसम्मै हल्कादेखि मध्यम वर्षा हुने छ । यस्तै उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना पनि छ ।

दार्चुलामा आइतबार बेलुकादेखि हुरीबताससहित पानी र असिना परेको थियो । यसैगरी जिल्लाको सबैभन्दा उचाइमा पर्ने तिंकर क्षेत्रमा शनिबार र आइतबार हिउँसमेत परेको दार्चुलावासीले बताएका छन् । माथिल्लो क्षेत्रको हिमपातले सदरमुकाम खलङ्गा लगायतका तल्ला बस्तीहरूमा चिसो बढेको छ ।

असिनापानीले फलफूल र तरकारीमा क्षतिसमेत पुर्याउँदा किसानहरु मर्कामा परेका छन् । धान, कोदो, सुन्तला र तरकारी खेतीमा असिना पानीले क्षति पुर्याएको छ ।

लेकम गाउँपालिका–५ पिर्तोलीका गोपालसिंह खत्रीले आइतबार साँझ पौने ५ बजेदेखि आधा घण्टासम्म असिना परेको थियो । असिनाले खेतबारी पूरै ढाकेर सेताम्य देखिएको थियो ।

असिनाले पाकिसकेको कागती र पाक्नै लागेको मौसम, सुन्तला, हलुवाबेद लगायत फलफूलमा ठूलो क्षति पुर्याएको छ । यस्तै काउली, बन्दा, ब्रो काउली, गोलभेँडा लगायतका तरकारी र धान, भटमास, कोदो लगायतका बालीहरू पनि नष्ट गरेको छ । पाकेको बाली भित्राउने बेला असिनाले सखाप पारेको भन्दै किसानहरू चिन्तित छन् ।

दार्चुला जिल्लाका साथै, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायत जिल्लामा पनि असिनाले क्षति पुर्याएको त्यहाँस्थित कृषि कार्यालयहरुले बताएका छन् । बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिनाले क्षति पुर्याएको छ । कर्णाली प्रदेशमा पर्ने दैलेखको ठाटिकाँध ४ गैरागाउँमा पनि धान र कोदोमा असिनााले क्षति पुर्याएको छ ।

असिनाले पुर्याएको क्षतिको एकिन विवरण संकलन भइरहेको जिल्लास्थित कृषि कार्यालयहरुले जनाएका छन् ।