आजको मौसमः मनसुन बाहिरिँदै तर वर्षा हुने सम्भावना

मूलखबर संवाददाता
काठमाडौं

यस वर्षको मनसुन बाहिरिनेक्रम जारी छ । कर्णाली प्रदेशको सम्पूर्ण भू–भाग, लुम्बिनी प्रदेशको अधिकांश भू–भाग तथा गण्डकी प्रदेशको पश्चिम भू–भागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भू–भाग र लुम्बिनी प्रदेशको पश्चिमी भू–भागबाट भने मनसुन यसअघि नै बाहिरिएको थियो ।

यसैबीच, नेपालको पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा मधेस र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले आज राति देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने जनाएको छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।