रामारोशनमा बढे पर्यटक

मूलखबर संवाददाता
काठमाडौं

अछाम । रामारोशन अछामको मात्रै नभई सुदूरपश्मिकै पर्यटकीय तथा धार्मिक क्षेत्र हो । रामारोशन गाउँपालिका–६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ ।

बाह्र बण्ड भनेको यहाँका १२ ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ । पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वर्णन गरी नसक्नु छ । हरियाली फाँट, त्यसमाथि फुलेका रङ्गीबिरङ्गी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् ।

समुद्री सतहबाट दुई हजार ५० मिटरदेखि तीन हजार सात सय ९२ मिटर उचाइमा रहेको यो ठाउँ १२ प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे तथा जडीबुटीले भरिपूर्ण छ ।

वर्षौदेखि पर्यटकको पर्खाइमा रहेको रामारोशन यस पटक भने चर्चामा आएको छ । करिव ६८ देशका नागरिक सामाजिक सञ्जाल मार्फत जोडिएको एक समूह रामारोशनमा कार्यक्रम गर्न आएपछि यसको चर्चा झनै चुलिएको छ ।

पर्यटकहरुको आगमन बढेसँगै यस क्षेत्रका जनता खुशी बनेका छन् । दिनानुदिन पर्यटकहरु आउन थालेपछि यस क्षेत्रमा किसानहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरुले मूल्य पाएको स्थानीय दलबहादुर साउदले बताए। रामारोशन पुग्दा हरेकलाई अलौंकिक आनन्द आउने आन्तरिक पर्यटक टेकबहादुर थापाले बताए ।

रामारोशन जानलाई सडक मार्गको पहुँच भए पनी वर्षाको समयमा लेक भएकाले बाटो अप्ठेरो हुने गरेको र पर्यटक पनि कम आउने बोट चालक टेकेन्द्र रोकायाको भनाइ छ । रामारोशन घुम्न आएका विभिन्न देशका नागरिकहरुलाई रामारोशन गाउँपालिकाले स्वागतसहित पर्यटकीय स्थलमा पठाउने गरेको छ ।

विदेशी पर्यटकहरुको आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा टेवा पुगेको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताए । सुदूरपश्चिम प्रदेश सरकारले रामारोशन पर्यटन विकास समिति बनाएको छ ।

समितिका अनुसार रामारोशनमा यसपटक विभिन्न देशका आठ सय ९७ पर्यटक आएका र त्यसमध्ये एक ७२ जना रामारोशनको अवलोकन गरेर फर्किसकेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्र साउदले बताए ।