विश्वकप क्रिकेटः दुई खेलाडीको शतकमा श्रीलंकाविरुद्ध पाकिस्तानको ‘रेकर्ड’ जीत

मूलखबर संवाददाता
काठमाडौं

मोहम्मद रिजवान र अब्दुल्लाह सफिकको शतकप्रेरित पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकाविरुद्ध ६ विकेटको कीर्तिमानी जित निकालेको छ ।

रिजवान र सफिले शतक बनाएपछि मंगलबार राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा श्रीलंकाले प्रस्तुत गरेको ३४५ रनको लक्ष्य पाकिस्तानले ४८.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो ।

विश्वकपको इतिहासमा कुनै पनि टिमले सफलतापूर्वक पूरा गरेको यो नै अहिलेसम्मकै ठूलो लक्ष्य हो ।

यसअघि सन् २०११ को विश्वकपमा आयरल्यान्डले इङ्ल्यान्डले दिएको ३२८ रनको लक्ष्य पूरा गर्दै यो कीर्तिमान बनाएको थियो ।

पाकिस्तानको जितमा मोहम्मद रिजवानले अविजित १३१ रन बनाए । एकदिवसीय विश्वकपमा पहिलो शतक बनाएका रिजवानले १२१ बलमा आठ चौका र तीन छक्का प्रहार गरे ।

३७–२ को कठिन अवस्थामा रहँदा रिजवानले तेस्रो विकेटका लागि ओपनर सफिकसँग १७६ रनको साझेदारी गर्दै पाकिस्तानलाई जितउन्मुख गराएका थिए ।

रिजवानअघि शतक बनाएका सफिकले १०३ बलमा १० चौका र तीन छक्का प्रहार गरे । एकदिवसीय विश्वकपमा सफिकको पनि यो पहिलो शतक हो ।

साउद सकिलले ३० बलमा दुई चौकासहित ३१ रन बनाए । इमाम उल हकले १२ रन थपे । पाकिस्तानका कप्तान बाबर आजम भने यो खेलमा पनि जम्न सकेनन् । उनी १५ बलमा एक चौकासहित १० रन बनाएर पभेलियन फर्किए ।

अन्त्यमा रिजवानसँगै अविजित रहेका इफ्तिखर अहमेदले १० बलमा चार चौकासहित २२ रन बनाए ।

श्रीलंकाका दिल्सान मदुसन्काले दुई विकेट लिदा महिष थिक्षणा र मथिसा पथिरानाले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंकाले पनि दुई ब्याटरको सहयोगमा निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर ३४४ रनको योगफल खडा गरेको थियो ।

विश्वकपको इतिहासमा पहिलो एक्कै खेलमा चार ब्याटरले शतक बनाएको यो पहिलोपटक हो ।

श्रीलंकाका कुशल मेन्डिसले ७७ बलमा १४ चौका र ६ छक्कासहित १२२ रन बनाएका थिए । सदिरा समराविक्रमाले ८९ बलमा ११ चौका र दुई छक्कासहित १०८ रन बनाए ।

ओपनर पथुम निसान्काले ५१ रन थपे । धनन्जय डी सिल्भाले २५, कप्तान दासुन सनाकाले १२ र दुनिथ वेलालागेले १० रन बनाए ।

पाकिस्तानका हसन अलिले चार विकेट लिए । १० ओभर बलिङ गरेका अलिले ७१ रन खर्चिए । ह्यारिस रौफले दुई विकेट लिदा साहिन साह अफ्रिदी, सदाब खान र मोहम्मद नवाजले समान एक विकेट लिए ।

भारत अक्टोबर ५ देखि सुरु भएको विश्वकपमा पाकिस्तानको यो लगातार दोस्रो जित हो । पाकिस्तानले यसअघि पहिलो खेलमा नेदरल्यान्ड्सलाई ८१ रनले हराएको थियो । दुई खेलबाट ४ अंक जोडेको पाकिस्तान तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

श्रीलंकाको भने यो लगातार दोस्रो हार हो । श्रीलंका यसअघि पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १०२ रनले पराजित भएको थियो ।