दशैंमा यात्रा सहज बनाउन जुट्यो सरकार, बिग्रे–भत्केका सडक मर्मत सुरु

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । दशैंमा घर जाने दिन आइसक्यो । बिग्रिएको भत्किएको सडकमा लामो यात्रा कसरी गर्नेहोला भनेर चिन्तित हुनुहुन्छ कि ? चिन्ता लिनुपर्दैन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले तपाईंको यात्र सहज र सुरक्षित बनाउने तयारीमा जुटिसकेको छ ।

वर्षायाममा भत्किएका, बिग्रिएका सडकको मर्मत गरी दशैंको यात्रा सहज बनाउन सरकार जुटेको हो । मंगलबार यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले विभिन्न सडकहरु तत्काल मर्मत गर्ने निर्णय गरेर काम पनि सुरु गरिसकेको छ ।

विभागका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती, चोरमारा, दाउन्ने सडकखण्ड र पोखरा–मुग्लिन सडकखण्ड अन्तर्गत कोत्रेबाट २१ किलोमिटर काठमाडौंतर्फको सडकमा सवारी साधन सञ्चालन गर्न सहज हुने हिसाबले तत्काल मर्मत सुरु गरिएको हो ।

बैठकले खाद्यान्न लगायत अत्यावश्यक वस्तुको ढुवानी गर्ने बाहेकका ठूला सवारी साधनलाई नारायणगढ–काठमाडौं सडकमा असोज २६ गतेदेखि नै रोक्ने निर्णय गरेको छ ।

अहिले काठमाडौंबाट गाउँ फर्किन चाहनेहरुका लागि अग्रिम टिकट बुकिङ खुला भइसकेको छ । यसअघि सहजरुपमा टिकट पाउने र सुरक्षित तरिकाले यात्रा गर्न पाउने सुनिश्चित गर्न सांसदहरुले सरकारलाई सुझाव दिएका थिए ।