काठमाडौंमा दशैं लक्षित सुरक्षा योजना, ड्रोन र कुकुरबाट पनि गस्ती
काठमाडौं । नेपालीहरुको महान चाड विजया दशमी नजिकिएपछि काठमाडौं उपत्यकामा सुरक्षा निगरानी बढाइएको छ । प्रहरीले ड्रोन र तालिम प्राप्त कुकुरका माध्यमबाट समेत सुरक्षा निगरानी गर्ने छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयले चाडवाडका समयमा उपत्यकाको शान्ति सुरक्षालाई चुस्त बनाउन ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिबद्धता’ नारासहित थालिएको सुरक्षा निगरानीका क्रममा आवश्यकताका आधारमा ड्रोन र कुकुरबाट गस्ती गर्ने काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरीक्त महानिरीक्षक दीपक थापाले जानकारी दिए ।
‘बडादशैं, तिहार, नेपाल सम्वत र छठका लागि उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौं, ललितपुर र भक्तपुर प्रहरी परिसर तथा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा अभियान थाल्दै छन्’, उनले भने ।
यस्तै बैंक, वित्तीय संस्था तथा नगद र गरगहनाको कारोबार हुने स्थानमा सादा पोशाकमा सुरक्षाकर्मी खटाइने छ । यात्रुलाई गन्तब्यसम्म सुरक्षित र सहजरूपमा पुर्याउने उद्देश्यले उपत्यकाका विभिन्न १५ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष स्थापना गर्न सुरू गरिएको छ ।
ती कार्यका लागि ५ हजार ८३३ प्रहरी तथा एक हजार ८०० ट्राफिक प्रहरी परिचालिन गरिने प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए ।