दाङमा मन्त्री सवार गाडी दुर्घटना, ४ जना घाइते

मूलखबर संवाददाता
काठमाडौं

दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की (राजेश) चढेको गाडी तुलसीपुरमा दुर्घटना भएको छ । दुर्घटनामा मन्त्री मास्कीसहित चार जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो दाङको दंगीशरण गाउँपालिकामा आयोजित एक कार्यक्रममा सहभागी भएर तुलसीपुर, अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गर्दा गाडी दुर्घटनामा परेको थियो ।
मन्त्री सवार लु १ झ ७३८ नम्बरकोे गाडी तुलसीपुर–१२ शितलपुरको घुम्तीमा अनियन्त्रित हुँदै सडक छाडेर खाल्डोमा खसेको थियो ।

दुर्घटनामा अर्थमन्त्री मास्की, उनका स्वकीय सचिव शम्भु पौडेल, पिएसो र चालकको हात खुट्टामा चोट लागेको छ । अर्थ मन्त्री मास्कीसहित चारै जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

लुम्बिनी प्रदेशमा पहिलो पटक सांसद हुँदै अर्थमन्त्री बनेका मास्की माओवादीको जनमुक्ति सेनाको पूर्व डिभिजन कमाण्डर हुन् ।