करातेकी एरिका गुरुङ फाइनलमा, कम्तिमा रजत पदक पक्का

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ । चीनको हाङझाउमा जारी १९ औँ एसियाली खेलकुदअन्तर्गत नेपालकी कराते खेलाडी एरिका गुरुङ फाइनमा प्रवेश गरेकी छिन् । फाइनलमा प्रवेश गरेसँगै नेपालले कम्तिमा रजत पदक जित्ने पक्का भएको छ ।

सेमिफाइनलमा महिला ६८ किलो तौल समूहमा हङकङकी यान काई होलाई पराजित गरेर एरिका फाइनलमा पुगेकी हुन्  । एरिकाले यान काई होलाई ८–४ अङ्कले हराइन् ।

यसअघि आजै भएको क्वाटरफाइनल खेलमा एरिकाले जापानकी खेलाडी युजुकी सावाएलाई पराजित गरेकी थिइन् । दुवै बीचको खेल १–१ अङ्कको बराबरीमा सकिए पनि गुरुङ सेन्शु (पहिलो अङ्क जोडेको) आधारमा विजयी भइन् ।

फाइनलमा उनले आजै काजकिस्तानकी सोफ्या बेरुल्तसेभासित खेल्ने छिन् ।

एरिकाले एसियाडअघि इन्डोनेसियामा भएको दशाैँ वर्ल्ड सितेरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।

योसँगै नेपालको जारी १९ औं एसियाली खेलकुदमा दोस्रो पदक पक्का भएको छ । यसअघि नेपालले महिला कबड्डीमा कास्य पदक जितेको थियो ।