शिक्षा विधेयक संशोधन गर्नुपर्छ, पर्याप्त काम गरौं : अनन्त

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन (अनन्त)ले शिक्षा सम्बद्ध सरोकारवालाका अधिकारहरुलाई विद्यालय शिक्षा विधेयकमा समेट्नुपर्ने बताएका छन् ।

सरकारले संसदबाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्वीकार गरेकाले विधेयक संशोधन गरेर सरोकारवालाको चासो सम्बोधन गर्नुपर्ने उनले बताए ।

प्रतिनिधि सभा बैठकमा आज विद्यालय शिक्षा विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद अनन्तले विधेयकलाई संशोधन गर्ने जिम्मेवारी अब सांसदहरुको हातमा आएको बताए ।

‘सरकारले ढिलो भएपनि विद्यालय शिक्षा विधेयक संसदसम्म ल्याइपुर्याएको छ । सरकारले संसद्बाट शिक्षा विधेयकलाई परिमार्जन गर्छौं भनेर स्विकार गरिसकेको अवस्था छ । सबै माननीयले यसमा पर्याप्त काम गरौं,’ अनन्तले भने ।

नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका अनन्तले संविधानको मर्म अनुसार विधेयक अघि बढाउनुपर्ने बताए ।

देशलाई समाजवादतर्फ लैजान सक्ने जनशक्ति तयार गर्न जरुरी रहेको र त्यो वैज्ञानिक शिक्षाबाट प्राप्त गर्न सकिने भन्दै उनले त्यसैअनुसार शिक्षा विधेयकलाई समृद्ध गर्न आवश्यक रहेकोमा जोड दिए । शिक्षा राज्यको दायित्व भएकाले सरोकारवाला पक्षहरुसँग सहकार्य गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

संघीय स्वरुपमा लैजाँदा शिक्षा विधेयकमा कतिपय कुराहरु छुटेको भन्दै अनन्तले त्यसलाई परिमार्जन गर्नुपर्ने बताए ।