काठमाडौँमा बढे डेङ्गीका बिरामी

मूलखबर संवाददाता
काठमाडौं

पछिल्लो समय काठमाडौँ महानगरपालिकामा डेङ्गी सङ्क्रमणका बिरामी बढेका छन् । विगत एक हप्तादेखि कामपाको ३२ वटै वडामा डेङ्गीका बिरामी बढेका हुन । महानगरपालिकाका स्वास्थ्य सेवा विभाग प्रमुख रामप्रसाद पौडेलका अनुसार असोजको पहिलो सातासम्म डेङ्गीका बिरामी नगण्य भएपनि अहिले बिरामी बढिरहेका छन् ।

डेङ्गी सङ्क्रमण नियन्त्रणका लागि कामपाले यस वर्ष पहिलो पटक बायो लार्भीसाइड औषधि सबै वडाहरूमा छर्केर नियन्त्रणको प्रयास गरे पनि डेङ्गी सङ्क्रमणका बिरामी भने बढिरहेको प्रमुख पौडेलको भनाइ छ ।

असारको पहिलो सातादेखि नै बायो लार्भीसाइड पानी जमेको स्थानमा छर्केर नियन्त्रण गरिएको थियो, अहिले बिरामी देखिन थालेका छन् यसको जोखिम आगामी कात्तिक १५ गतेसम्म रहन सक्छ, त्यस बेलासम्म सबै सचेत रहन आवश्यक रहेको पौडेलले बताए । कामपाको सबै वडामा प्रत्येक हप्ताको बुधबार बिहान ८ बजेदेखि १० बजेसम्म डेङ्गी सार्ने लामखुट्टेको लार्भा खोज र नष्ट गर अभियान जारी छ ।

प्रमुख पौडेलले लामखुट्टेबाट बच्नका लागि काम गर्दा पूरा बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न, सधैँ झुल टाँगेर मात्र सुत्न नगरवासीलाई आग्रह गरिएको छ । एडिस जातिका पोथी लामखुट्टेको टोकाइबाट हुने यो रोग लाग्दा ज्वरो आउने, असाध्यै टाउको दुख्ने, आँखाको गेडी तथा आँखाको पछिल्लो भाग दुख्ने, टाउको, पेट, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, वाकवाकी लाग्ने, नाक वा गिजाबाट रगत बग्ने, बेहोस हुने जस्ता लक्षण देखापर्दछ । नेपालमा डेङ्गी सङ्क्रमण देखापर्न थालेको १९ वर्ष भयो । सन् २०२२ मा ५४ हजार ७८ जनामा पुष्टि हुँदा ८८ जनाको मृत्यु भएको थियो ।