प्रधानमन्त्री प्रचण्ड छेन्दुमा
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड ल्हासाबाट छेन्दु पुगेका छन् । छेन्दुमा उनले चिनियाँ कम्युनिष्ट पार्टी सिचुवान प्रान्तका सेक्रेटरी एवं सिचुवान प्रान्तीय जनकांग्रेसको स्थायी समितिका अध्यक्ष नेतृत्वको चिनियाँ प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् ।
भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति सी, प्रधानमन्त्री लीसहितको उच्चस्तरीय भेट वार्ता र दुई देशको तर्फबाट जारी संयुक्त वक्तव्य स्मरण गर्दै छुङकिङ, तिब्बत र सिचुवानको भ्रमण र पार्टी प्रमुखहरुसँगको भेटवार्ताले सहमति कार्यान्वयन र दुई देशबीच नयाँ र उच्चस्तरको सम्बन्ध विकासमा नयाँ कोसेढुङ्गा बन्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीच सम्पन्न नयाँ व्यापार सन्धिले नेपाल अब भूपरिवेष्ठित देश होइन भू(सम्बन्ध जोड्ने देश भएको पािन बताए ।
सो क्रममा सिचुवान प्रान्तका पार्टी सेक्रेटरी वाङले प्रचण्ड चीनको असल साथी भएको र प्रचण्डको नेतृत्वमा नेपाल–चीन सम्बन्ध नयाँ आधारमा विकास हुने विश्वास व्यक्त गरे । नेपाल र चीन बीच भएको समझदारी कार्यान्वयन गर्न आफूहरु प्रतिबद्ध रहेको समेत वाङले बताए ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल भोलि (शनिबार) छेन्दुबाट नेपाल फर्किने कार्यक्रम छ।