कार्यवाहक प्रधानमन्त्री खड्काले भने-प्रचण्डको चीन भ्रमणमा भएका सहमति देश हितमा छन्

मूलखबर संवाददाता
काठमाडौं

सुर्खेत । कार्यवाहक प्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले चीनसँग भएका सहमति र सम्झौताहरु देश हितमा भएको बताएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणका क्रममा भएका १२ वटा सहमति र एउटा सम्झौता देशहितमा भएको खड्काको भनाइ छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रधानमन्त्री खड्काले सत्तारुढ गठबन्धनको सहमतिमा नै नेपाल र चीनबीच सहमति–सम्झौता भएको र प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सफल भएको बताए ।

बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) लगायतका विषयमा सत्ता गठबन्धन दलको सहमतिमै प्रधानमन्त्रीले सहमति जनाएको बताउँदै खड्काले भने, ‘गठबन्धनको सहमतिमा यी सबै सहमति प्रधानमन्त्रीले गर्नुभएको हो ।’

कार्यवाहक प्रधानमन्त्री खड्काले विकास–निर्माणका सन्दर्भमा देखिएका कानुनी अड्चनलाई हटाउन केही नेपाल ऐन संशोधनको प्रक्रिया अघि बढाइएको जानकारी पनि गराए ।