कांग्रेसले संघीयतालाई अरुले बोकाइदिएको भारीको रुपमा लिनु हुँदैन : गगन थापा

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले संघीयतालाई अरुले बोकाइदिएको भारीको रुपमा लिन नहुने बताएका छन् ।

११ औं महाधिवेशनबाट देशलाई संघीयतालाई लैजाने निर्णय गर्ने कांग्रेस नै पहिलो पार्टी भएको दाबी गर्दै थापाले कांग्रेसका लागि संघीयता कसैले बोकाइदिएको भारी नभएको बताए ।

आजको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै महामन्त्री थापाले भने, ‘संघीयता ठीक ढंगले चलिरहेको छैन, सुधार गरौँ भन्ने कुरा ठीक छ । तर योचाहिँ अरू कसैले बोकाइदिएको भारी हो भनेर यस्तो भारी हामी बोक्न सक्दैनौँ भनेर उम्किने मिल्दैन, यो नैतिकताको कुरा हो ।

उनले थपे, ‘सबैभन्दा पहिले महाधिवेशनबाट निर्णय गरेर केन्द्रिकृत शासनलाई विकेन्द्रित गर्ने हाम्रो पार्टी हो । त्यसकारण संघीयता पार्टीको नीतिबमोजिम ल्याइएको हो ।’

बैठकमा केही कांग्रेस नेताहरुले संघीयता बोझिलो भएको भन्दै यसमा पुनरविचार गर्नुपर्ने धारणा राखेका थिए । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त महत्वपूर्ण कानुन नबनाउने भए संघीयता खारेज गरिदिए हुन्छ भनेका थिए ।