मन्त्रीको पिए हुँ भन्दै रकम असुल्ने एकजना पक्राउ
धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रीको निजी सचिव हुँ कर्मचारीहरुबाट रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनी ठगी गरेको आरोपमा कालिकोट शुभकालिका गाउँपालिका–८ मुग्राहका २९ वर्षीय अम्मरराज सेजुवाल पक्राउ परेका हुन् ।
भौतिक पूर्वाधार विकास मन्त्रीको पीए हुँ भनेर पैसा मागेको अडियो सार्वजनिक भएपछि प्रहरीले उनको खोजी थालेको थियो । त्यसपछि उनलाई कैलाली प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको हो।
अनुसन्धानको क्रममा अम्मरले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र भौतिक मन्त्रालयका मन्त्रीको निजी सचिव हुँ भनि प्रदेशका विभिन्न जिल्लाका कृषि कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई फोन गरेर पैसा माग्ने गरेको खुलेको छ । सेजुवालले डोटी र डडेल्धुराका विभिन्न व्यक्तिलाई रकम तयार गरेर राख्नू म आइपुग्दै छु भन्दै रकम असुल्ने गरेका थिए । भेटेर नगद लिन सम्भव नभए उनले ई–सेवाबाट पैसा असुल्ने गरेको खुलेको छ ।
सेजुवालले कम्तिमा दुई हजारदेखि बढीमा तीस हजारसम्म रकम उठाएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अहिले उनका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी देवेन्द्र पालले बताए।
सेजुवालले अन्य व्यक्तिहरुलाई समेत ठगी गरेको भए आफूसँग भएको आधार प्रमाणसहित उजुरी दिन जिल्ला प्रहरी कार्यालय कैलालीले आग्रहसमेत गरेको छ ।