गैरीगाउँ हत्याकाण्डः बोल्न नसक्ने अभियुक्तको सनसनीपूर्ण बयान
प्रहरीले आइतबार बेलुका राजधानीको तीनकुनेस्थित गैह्रीगाउँमा भएको ४ जनाको हत्याका अभियुक्तलाई सार्वजनिक गरेको छ । प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ९ स्थायी भई काठमाडौँ काँडाघारीस्थित वीरेन्द्र चोक बस्ने २३ वर्षीय संजय भण्डारीलाई सार्वजनिक गरेको छ ।
बोल्न नसक्ने उनलाई ४ जनाको हत्या गरेको अभियोगमा घटनाको करिब ३६ घण्टापछि प्रहरीले क्लोजसर्किट टेलिभिजन (सीसीटीभी) फुटेको सहयोगमा पहिचान गरी पक्राउ गरेको हो । भण्डारीले दोभासे र लेखेर आफूले हत्या गरेको प्रहरीसमक्ष स्वीकारेको एसएसपी सोमेन्द्र सिंह राठौरले पत्रकार सम्मेलनमा जानकारी दिए ।
अभियुक्त भण्डारीले २ महिना अगाडि मोटरसाइकल दुर्घटनाको विषयलाई लिएर विशाल राईसँग विवाद भएको र त्यसैको रिसमा हत्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकार गरेका छन् ।
‘उनले दोभासेको सहयोगमा आफूले ४ जनाको हत्या गरेको स्वीकारेका छन्,’ एसएसपी राठौरले पत्रकार सम्मेलनमा भने ।
प्रहरीका अनुसार भण्डारीले आई ह्याड किलिङ फोर पिपुल (मैले चार जनालाई मारेँ) भनेर कागजमा लखेको छन् । प्रहरीले दुर्घटना गराउने विशाल बस्ने ठाउँ उनले कसरी पत्ता लगाए भन्ने विषयमा स्पष्ट जवाफ दिन सकेको छैन । तर पत्रकार सम्मेलनमा २–३ पटक अभियुक्तले घटनास्थलमा राईले देखेको बताएको दाबी गरेको छ ।
शुक्रवार राति विशालले काम गर्ने ठाउँ अर्थात् समिलमा आएर पहिला विशालको हत्या गरेका थिए । विशालले उनलाई कुटपिट गरेका कारणले हत्या गरेको प्रहरीलाई बताएका छन् । हत्या गरे लगत्तै वृद्ध सुभद्रा भुजेल कराएको जस्तो लागेर उनको पनि हत्या गरेका थिए । सुभद्रालाई हत्या गरेपछि पूर्णबहादुर भुजेलले मोबाइल कसैलाई फोन गरेर बोलाउन लागेको जस्तो लागेपछि उनको पनि हत्या गरेको दोभासेको माध्यमबाट अभियुक्त भण्डारीले प्रहरीसमक्ष बयान दिएको एसएसपी राठौरले बताए ।
त्यसपछि सञ्जयले उनीहरूको शव घिसारेर ट्वाइलेटको ढोका छेउको कुनामा राखेका थिए । उनले अन्य तीन जनाले घटनाको बारेमा थाहा पाएको भन्ने लागेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन् ।
घटनामा दोलखा कालिन्चोक गाउँपालिका ८ का ५६ वर्षीय कुमार भुजेल भन्ने पूर्णबहादुर भुजेल, उनकी श्रीमती अम्बिका भुजेल, आमा सुभद्रा भुजेल र धनकुटा भरिगाउँ गाउँपालिका २ का १९ वर्षीय नवीन भन्ने विशाल राईको हत्या भएको थियो ।
प्रहरीका अनुसार अभियुक्त सञ्जय भण्डारीले १२ कक्षासम्म साङ्केतिक भाषा पढेका छन् । उनले प्रहरीसँगको कुराकानी लेखाइका साथै दोभासेको माध्यमबाट गर्छन् ।
कानुनी विषयमा आफूलाई जानकारी नभएको र आफ्नो संस्था रोहबरविना थप नबोल्ने उनले प्रहरीलाई बताउने गरेका छन् । आफूजस्ता अपाङ्गता भएका व्यक्तिहरूलाई थुनेर राख्न नमिल्ने समेत उनले बताउने गरेको प्रहरीले जनाएको छ ।