सुवास नेम्वाङको पार्थिव शरीर एमाले कार्यालयबाट निवासमा लगियो, बिहीबार अन्त्येष्टि

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । संविधानसभाका अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई बालुवाटारस्थित निवासमा लगिएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिएको उनको पार्थिव शरीरलाई बुधबार दिउँसो बालुवाटारस्थित निवासमा लगिएको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए । निवासमा पारिवारिक तथा धार्मिक संस्कारअनुसार उनका आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जली अर्पण गरिएको छ ।

नेम्वाङको अन्त्येष्टि बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने भएको छ । नेम्वाङको निधको शोकमा अन्त्येष्टि हुने दिन सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।

नेम्वाङका विदेश भएका छोराहरु फर्किन ढिला भएकाले नेम्वाङको अन्त्येष्टि बिहीबार गर्न लागिएको हो । नेम्वाङका दुबै छोराहरु आजै काठमाडौं फर्किसकेका छन् ।

मङ्गलबार बिहान निवासमै बेहोस भएका नेम्वाङलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिए पनि डाक्टरहरुले मृत घोषणा गरेका थिए । नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्नका लागि उनको पार्थिव शरीर मङ्गलबार दिउँसोदेखि आज दिउँसो १ बजेसम्म एमाले पार्टी कार्यालयमा राखिएको थियो ।

पार्टी कार्यालयमा नेता श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराई, मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलगायत नेता तथा कार्यकर्ता एवं सर्वसाधारण पुगेका थिए ।