परराष्ट्रमन्त्रीसँग को–को गए न्यूयोर्क ? प्रधानमन्त्रीसँग कोको जाँदैछन् ?

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौँ । परराष्ट्र मन्त्री नारायणप्रकाश (एनपी) साउद अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगले यही सेप्टेम्बर १४ तारिखमा न्यूयोर्कमा आयोजना गर्न लागेको ‘शान्ति निर्माणमा शिक्षाको भूमिका’ कार्यक्रममा सहभागी हुन उनी आज त्यसतर्फ प्रस्थान गरेका हुन् । नेपाल हाल संयुक्त राष्ट्रसङ्घीय शान्ति निर्माण आयोगको सदस्य छ ।

मन्त्री साउदसँग उनका स्वकीय सचिव दीपकराज जैशी पनि न्युयोर्क गएका छन् । परराष्ट्रबाट सचिव भरतराज पौड्याल, चिफ अफ प्रोटोकल दिलिप कुमार पौडेल र थप एकजना प्रोटोकल अधिकृत पनि छन् ।

उक्त कार्यक्रमपश्चात संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रतिनिधि मण्डलमा प्रधानमन्त्रीसँगै उनको सचिवालयका दुई जना सुरक्षाकर्मी, स्वकीय सचिव गंगा दाहाल, फोटोग्राफर प्रदिपराज वन्त लगायत रहने छन् ।

अमेरिकाबाट न्यूयोर्कस्थित नेपाली स्थायी नियोगका प्रतिनिधि लोकबहादुर थापासहितका अधिकारीहरू र वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासबाट राजदूत श्रीधर खत्रीसहित अन्य अधिकारीहरु गरी थप १४ जना प्रतिनिधि मण्डलमा जोडिने छन् ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधि मण्डलमा ३० भदौमा महासभाको ७८ औं सभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्ने कार्यसूची छ । प्रधानमन्त्री प्रचण्डले महासभामा नेपालका तर्फबाट ४ असोजमा सम्बोधन गर्नेछन् ।

त्यसपछि ५ असोजमा प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाट सीधै चीन प्रस्थान गर्ने कार्यसूची छ । अमेरिकाबाट चीन जाने भ्रमण दलको सूची भने अहिलेसम्म टुंगो लागि सकेको छैन ।