नेम्वाङको निधनपछि कांग्रेसको बिपी साहित्य महोत्सव स्थगित
काठमाडौं । नेपाली कांग्रेसले बिपी साहित्य महोत्सवको अन्तिम दिनको कार्यक्रम स्थगित गरेको छ । संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएका कारण महोत्सवका कार्यक्रम स्थगित गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टीका सहमहामन्त्री एवं महोत्सव तयारी समितिका संयोजक बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले नेम्वाङको निधनप्रति दुःख व्यक्त गर्दै महोत्सवका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो । बैठकले नेम्वाङको आकस्मिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ ।
बैठकले नेम्वाङको परिवारजन, नेकपा एमाले पार्टी र शोकाकुल सबैमा समवेदना व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको साउन २ देखि १० गतेसम्म चलेले निर्णय गरेअनुरुप बिपी साहित्य महोत्सव आयोजना गरिएको हो । महोत्सवको अन्तिम दिनको कार्यक्रम अर्को सूचनापछि गरिने जनाइएको छ ।