अन्तिम अवस्थामा के भएको थियो सुवास नेम्वाङलाई, यस्तो छ परिवारले दिएको विवरण
पूर्वसभामुख एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएको छ। हृदयघातका कारण निधन भएपछि उहाँको निधन कसरी भयो भन्ने चासो व्यक्त भैरहेको छ। नेम्वाङको सचिवालयले हृदयघात भएपछि उनलाई उपचारका लागि गएराति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएका जनाएको छ । तर, उपचारको क्रममा उनको त्यहीँ निधन भएको स्वकीय सचिव कृष्णप्रसाद काफ्लेले बताए ।
उनका अनुसार नेम्वाङमा सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका थिए । तर गएराति अचानक हृदयघात हुन पुगेको हो ।
हृदयघात भएको अवस्थामा उनलाई शौचालयमा बेहोस अवस्थामा फेला परिएको थियो। त्यसपछि परिवारका सदस्यहरुले भेटेर त्रिवि शिक्षण अस्पताल पुर्याउँदा नै उनको मृत्यु भइसकेको थियो ।
सुवास नेम्वाङ बालुवाटारस्थित निवासमा थिए । परिवारका सदस्यहरुका अनुसार अनुसार राति १ बजेतिर नेम्वाङ शौचालयमा बेहोस् अवस्थामा भेटिएका थिए । उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पुर्याउँदा राति १ः५० बजेको थियो । त्रिवि शिक्षण अस्पतालको कागजपत्रमा नेम्वाङलाई १ः५० बजे अस्पताल ल्याइपुर्याएको उल्लेख छ ।
अस्पताल पुर्याएलगत्तै चिकित्सकहरुले नाडी, मुटुको धडकन र श्वासप्रश्वासको अवस्था चेक गरेका थिए । तर ती कुनै पनि नचलेको पाइएपछि मृत घोषणा गरेका थिए ।
त्रिवि शिक्षण अस्पताल स्रोतले भन्यो, ‘मेडिकल प्वाइन्टबाट हेर्दा हामीले नाडी चले नचलेको, सास फेरे नफेरेको, मुटु चले नचलेको हेर्छौं । नेम्वाङमा ती केही पनि थिएनन् । त्यो भनेको हस्पिटल आइपुग्नुभन्दा अगाडि नै मृत्यु भएको भन्ने हुन्छ ।’
नेम्वाङको निधनको खबर पाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका शीर्ष नेताहरु अस्पताल पुगेका थिए । अहिले पनि अस्पतालमा नेता–कार्यकर्ताहरुको भिडभाड छ । नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिने छ ।
एमाले नेता प्रदीप ज्ञवाली त्रिवि शिक्षण अस्पतालबाट पार्थिक शरीर पार्टी कार्यालय लैजान लागिएको बताए । उनले मंगलबार बिहान ७ बजेपछि पार्थिव शरीर पार्टी कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि राखिने उनेका भनाइ छ ।
नेम्वाङको निधनमा राष्ट्रपति, प्रधानमन्त्रीले दुःख व्यक्त गरेका छन् ।