गराइविपरीत राजेन्द्र लिङ्देनको भनाइ– राप्रपा बार्गेनिङ गरेर सत्तामा जाँदैन
सुर्खेत । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पदको बार्गेनिङ गरेर सत्तामा नजाने बताएका छन् । कोशी प्रदेशमा बदलिएको राजनीतिक परिस्थितिमा एमाले–राप्रपाको सम्भावित समीकरणको चर्चा भइरहेको बेला लिङ्देनको उक्त अभिव्यक्ति सार्वजनिक भएको हो ।
आज सुर्खेत विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित राजनीति राप्रपाले नगर्ने दाबीसमेत गरे । ‘राप्रपा बाहिर बसेर भ्रष्टाचारविरुद्ध दरिलो खम्बा भएर उभिन सक्छ तर पदको लोभले सत्ताको राजनीति गर्दैन,’ उनले भने । यद्यपि सरकारलाई राप्रपाले सरकारलाई अप्ठेरो पर्दा समर्थन र सत्ता टिकाउन पनि सहयोग गर्ने उनले बताए ।
राप्रपा अध्यक्ष लिङ्देनले सत्ता केन्द्रित राजनीति नगर्ने र पदको बार्गेनिङ नगर्ने भने पनि उनका गतिविधि ठिक विपरीत छन् ।
यसअघि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीको भागमा परेको एउटा संसदीय समितिको सभापतिको नेतृत्व राप्रपालाई दिएका थिए । त्यतिबेलादेखि राप्रपाले प्रदेश १ मा सत्ता गठबन्धनको सरकारलाई सघाउन सक्ने अड्कल गरिएको थियो । तर अड्कल अनुसार भएन । मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने दिन राप्रपाका ज्येष्ठ सदस्यहरु योजनाबद्ध ढंगले विदा बसिदिएका थिए ।
थापाले बहुमत जुटाउन नसकुन् भनेर एमालेबाट उपसभामुख चुनिएकाी सिर्जना दनुवार काठमाडौं आएकी थिइन् भने एमालेकै अन्य ज्येष्ठ सदस्य र राप्रपाका ज्येष्ठ सदस्यहरु स्वास्थ्यको कारण देखाउँदै विदा बसिदिएका थिए । यस्तो परिस्थितिमा मुख्यमन्त्री थापाले प्रदेश सभा बैठकको अध्यक्षता गरेका प्रदेश सभाका ज्येष्ठ सदस्यकै मत लिन बाध्य भएका थिए । जसलाई बिहीबार सर्वोच्च अदालतले असंवैधानिक भएको ठहर गरेपछि मुख्यमन्त्री थापा पदमुक्त भएका छन् ।
सर्वोच्चको आदेश अनुसार प्रदेश सभाको ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मत बहादुर कार्की पुनः मुख्यमन्त्री बनेका छन् । एमाले नेतृत्वको सरकारलाई राप्रपाले समर्थन गरिसकेको छ ।
यस्ता घटनाक्रमबाट राप्रपा अध्यक्ष लिङ्देनको भनाइ र गराइको ठेगान छैन भन्ने पुष्टि हुन्छ । उनले आज सुर्खेतमा अप्ठेरो परेको बेला सरकारलाई समर्थन गर्ने र टिकाउने भने पनि उनका विगतका गतिविधि ठ्याक्कै विपरीत छन् । अहिलेको राजनीतिक परिस्थितिमा एमालेले जे निर्णय गर्यो त्यही निर्णय राप्रपाले गर्दै आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समर्थन फिर्ता लिँदै एमाले बाहिरिएलगत्तै राप्रपाले पनि त्यही गरेको थियो ।
कोशी प्रदेशमा पनि एमालेकै पिछलग्गु भएको आरोप राप्रपामाथि लाग्दै आएको छ । कोशी प्रदेशमा त एमालेले मुख्यमन्त्रीमा दाबीसमेत गरेको थियो ।