चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा कांग्रेस निकट झा नियुक्त

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष पदमा प्रा.डा. अञ्जनीकुमार झालाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले झालाई चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

आयोगको उपाध्यक्षका लागि लोक सेवा आयोगका अध्यक्षको नेतृत्वमा गठित सिफारिस समितिले झासहित, डाक्टर प्रविण मिश्र र डाक्टर श्रीकृष्ण गिरीको नाम सिफारिस गरेको थियो । तिनीहरुमध्येबाट नेपाली कांग्रेस निकट झालाई मन्त्रिपरिषद बैठकले आयोगको उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । उनी सिफारिस समितिको पहिलो नम्बरमा सिफारिसमा परेका थिए । झा नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।

राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ आयोगको अध्यक्ष प्रधानमन्त्री हुने र कार्यकारी भूमिकामा उपाध्यक्ष रहने व्यवस्था छ । उपाध्यक्षको पदावधि बढीमा चार वर्षको हुने प्रावधान छ ।

आयोगले चिकित्सा शिक्षाको क्षेत्रमा अवलम्बन गर्नु पर्ने राष्ट्रिय नीति तय गर्ने, संघ तथा प्रदेश तहका चिकित्सा शिक्षाको सबै तह एवं विधाको मापदण्ड र स्तर सम्बन्धी नीति तथा मापदण्ड निर्धारण गर्ने, एकीकृत प्रवेश परीक्षा ९कमन इन्ट्रान्स० सञ्चालनका लागि नीति तथा मापदण्ड निर्धारण गर्ने, चिकित्सा शिक्षाको विषयमा विश्वविद्यालय, प्रतिष्ठान र परिषद्लाई आवश्यकता अनुसार निर्देशन दिनेलगायतका काम गर्दछ ।

आज बसेको मन्त्रिपरिषद बैठकले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० र संघीय शिक्षा ऐन सम्बन्धी विधेयक, २०८० संसदमा पेश गर्ने निर्णय पनि गरेको छ ।